कोभिड प्यान्डेमिकको साप्ताहिक विश्लेषण (पुस १८ देखि २४ सम्म)

ओमिक्रोनले विश्वलाई कति दुख देला?

कोरोना भाइरसको ओमिक्रोन भ्यारिएन्टका कारण विश्वमा नयाँ प्यान्डेमिक लहर सुरु भएको छ। सन् २०२१ डिसेम्बरको अन्तिम सातातिर सुरु भएको पछिल्लो लहर अति द्रुत गतिमा बढिरहेको छ र दैनिक नयाँ संक्रमणको संख्या विश्वभर बढिरहेको छ। वर्ल्डोमिटरका अनुसार वर्तमान लहर सुरु हुनुभन्दा पहिला विश्वको दैनिक कुल कोरोना नयाँ संक्रमण संख्या ५ लाख ५० हजारदेखि ८ लाखसम्म हुने गरेकोमा पछिल्लो समय २७ लाख नाघेको छ। यसभन्दा अघि सन् २०२१ को एप्रिलमा विश्वको दैनिक कुल संक्रमण ९ लाख जतिसम्म पुगेको थियो। त्यस अर्थमा हालको दैनिक संक्रमण पहिलाकोभन्दा तीन गुणाभन्दा धेरै भइसकेको छ।

एक्काइसौँ शताब्दीको यस घडीमा, विज्ञानले आकास र मंगल ग्रह चुमिसकेको यस समयमा एउटा भाइरसले सम्पूर्ण विश्व र यसका मानव जातिलाई यसरी आतंकित बनाउनु आश्चर्यजनकर दुखपूर्ण छ। तर पछिल्लो समयसम्मको कोरोना मृत्युको तथ्यांक हेर्ने हो भने त्यति दुखपूर्ण देखिदैन। गत वर्षको जनवरीमा १७ हजारसम्म पुगेको दैनिक विश्व कोरोना मृत्यु हाल ७/८ हजार सम्म मात्रै छ । तर हाल अति तीब्र गतिमा फैलिरहेको ओमिक्रोन भ्यारिएन्टले कत्तिको मानव  क्षति पुर्याउँला हेर्न बाँकी नै छ। ओमिक्रोन भ्यारिएन्ट डेल्टाभन्दा काम घातक छ भन्ने कुरा अध्ययन र तथ्यांकले देखाए पनि कोरोनाको नयाँ संक्रमणको संख्यासँगै अस्पतालमा परीक्षण गर्ने मानिसको चाप र बिरामीको चाप निकै बढेको कुरा हाल युरोप र अमेरिकामा देखिइसकेको छ। यस्तो  अवस्थामा उपचारका स्रोत र साधन र जनशक्तिको अभाव हुनसक्ने ठूलो सम्भावना हुन्छ। यी कारणले गर्दा ओमिक्रोन धेरै घातक नभए पनि वर्तमान प्यान्डेमिक लहरले विश्वलाई ठूलै दुख दिने लक्षण देखिन्छ।

त्यस्तै पछिल्लो समय दक्षिण एसियाको कोरोना प्यान्डेमिक प्रबृत्ति पनि विश्वको जस्तै देखिन्छ। सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टर (SAARC Disaster Management Center, SDMC) का अनुसार २०२२ डिसेम्बरको अन्त्यतिर सुरु भएको यस क्षेत्रको नयाँ प्यान्डेमिक लहर हाल निकै तिब्र गतिमा अघि बढिरहेको छ। २०२१ को सुरुवातीतिर दैनिक करिब ६०००० नयाँ कोरोना संक्रमण देखिएको यस क्षेत्रमा २०२१ को अन्त्यसम्म आइपुग्दा ५-७ हजारमा दैनिक संक्रमण झरिसकेको थियो। तत्पश्चात युरोप र अमेरिकामा फैलिएको पछिल्लो लहर भारत र अन्य दक्षिण एसियाली देशहरुमा पनि फैलिई दैनिक १ लाख २० हजार नाघिसकेको छ। यदि पछिल्लो लहर यसरी नै बढ्दै जाने हो भने हाल जसरी युरोप र अमेरिकामा पछिल्लो लहर बिगतको भन्दा २-३ गुणाले ठूलो हुँदै गएको छ । त्यसरी नै यस क्षेत्रमा पनि कोरोना संक्रमण र प्यान्डेमिक लहर बढ्ने निश्चित छ। सामाजिक र आर्थिक अवस्था कम्जोर रहेको यस क्षेत्रमा कोरोना भ्याक्सिनको पहुँच र प्रयोग पनि त्यति राम्ररी हुन नसकेको अवस्थामा हाम्रो क्षेत्र थप जोखिममा रहेको कुरा पनि सम्बन्धित निकाय तथा सम्पूर्ण जनताले बिर्सनु हुँदैन। यसभन्दा अघि दक्षिण एसियामा २०२१को मे महिनामा दैनिक कोरोना संक्रमण अधिकतम ४ लाख ३६ हजारसम्म पुगेको थियो। युरोप र अमेरिकामा जस्तै दक्षिण एसियामा पनि त्यही अनुपातमा संक्रमण बढ्दै गए यहाको अवस्था कस्तो होला, कल्पनाभन्दा टाढा छ।

त्यस्तै भारतको कुरा गर्ने हो भने २०२० को सेप्टेम्बरको पहिलो प्यान्डेमिक लहरको बेला दैनिक संक्रमण अधिकतम १ लाख जति देखिएकोमा २०२१ मे महिनाको दोस्रो लहरमा दैनिक संक्रमण अधिकतम ४ लाख नाघेको थियो। पछिल्लो समयमा WHO का अनुसार  भारतमा दैनिक संक्रमण १ लाख १७ हजार नाघेको छ र यो क्रम अझै तिब्र बढ्ने लक्षण देखिन्छ। अन्य दक्षिण एसियाली देशहरुमा, विशेष गरी पाकिस्तान र बंगलादेशमा पनि यही प्रबृत्ति देखिन्छ ।

यसरी विश्व , दक्षिण एसिया र भारतको पछिल्लो प्यान्डेमिक प्रबृत्ति एकै किसिमको देखा परिरहेको अवस्थामा नेपाल मात्रै कसरी सुरक्षित रहन सक्ला, ठूलो प्रश्न हाम्रो सामू छ। यसको रोकथाम र नियन्त्रणका  उपायहरु आजैबाट सुरु नगरे कोरोना संक्रमणका कारण हाल श्रीलंका, पाकिस्तान लगायतका देशहरुले जुन आर्थिक संकट भोगिरहेका छन् त्यही अवस्थामा नेपाल भोलि नपुग्ला भन्न सकिँदैन।

यसै सेरोफेरोमा नेपालर विश्वको कोरोना प्यान्डेमिकको साप्ताहिक विश्लेषण गर्ने क्रममा पछिल्लो विश्लेषण विभिन्न स्रोतहरुबाट प्राप्त तथ्यांकको आधारमा तल देखाइए बमोजिम प्रस्तुत गरिएको छ। यस लेखमा उद्धृत गरिएका तथ्यांकहरु विभिन्न श्रोतहरुबाट लिइएका हुन्- जस्तै नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय (MOHP), जोन्स होप्किन्स विश्वविद्यालय (Johns Hopkins University), WHO, वर्ल्डोमिटर (Worldometer), आवर ओर्ल्ड इन डाटा (Our World in Data), सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टर (SAARC Disaster Management Center, SDMC)आदि। यस लेखको उद्देश्य कोरोना सम्बन्धी तथ्यांक सही रुपमा पस्की विश्व र नेपालको प्यान्डेमिकको सही चित्रलाई पाठकवर्ग समक्ष पुर्‍याउनु हो।

गत हप्ता पनि प्यान्डेमिकका तथ्यांकहरु विश्वभरि र नेपालमा पनि उतारचढाव हुने क्रम जारी रह्यो। निम्न केही तथ्यांकको आधारमा गएको हप्ता नेपाल र दक्षिण एसियामा कोरोना प्यान्डेमिकको अवस्था कस्तो रह्यो- केही विश्लेषण गरी हेरौं।

विश्वमा कोरोना प्यान्डेमिक तलमाथि हुने क्रममा दक्षिण एसिया प्यान्डेमिकको पछिल्लो सिकार बन्न थालेको छ।

दक्षिण एसियाको पछिल्लो १५ दिन, सन् २०२१ डिसेम्बर २२ देखि सन् २०२२ जनवरी ५, को कोरोना प्यान्डेमिक सम्बन्धि विभिन्न तथ्यांकको विश्लेषण तल देखाइएको छ।

चित्र न.१ ले दक्षिण एसियाको पछिल्लो १५ दिनको समग्र दैनिक कोरोना संक्रमण र मृत्युको प्रबृत्ति देखाएको छ। पछिल्लो अवस्थामा दक्षिण एसियामा दैनिक कोरोना संक्रमण निकै तिब्र गतिमा बढेको पाइयो। दैनिक मृत्यु संख्या भने केही तलमाथि भएता पनि स्थिर देखियो भने पछिल्लो समय दैनिक मृत्यु पनि बढ्न खोजेको देखिन्छ।

चित्र न.२ ले दक्षिण एसियाका विभिन्न देशहरुमा पछिल्लो १५ दिनको दैनिक नया कोरोना संक्रमणको प्रबृत्ति देखाएको छ। चित्रमा देखाइए जस्तै पछिल्लो अवस्थामा दक्षिण एसियाका सबै देशहरुमा दैनिक संक्रमणमा वृद्धि हुँदै गएको प्रबृत्ति देखियो। भारतमा दैनिक संक्रमणमा निकै वृद्धि भएको छ भने अन्य देशहरुमा पनि दैनिक संक्रमण क्रमिक रुपले बढ्दै गएको प्रबृत्ति देखिन्छ।

त्यस्तै, चित्र न.३ ले  दक्षिण एसियाका विभिन्न देशहरुमा पछिल्लो १५ दिनको दैनिक कोरोना मृत्युको प्रबृत्ति देखाएको छ। चित्रमा देखाइएजस्तै पछिल्लो अवस्थामा दैनिक मृत्यु दक्षिण एसियाका सबै देशहरुमा स्थिर प्रबृत्तिको देखियो।

चित्र न.४ ले दक्षिण एसियाली र अन्य केही देशहरुको पछिल्लो १५ दिनको जोन्स होप्किन्स विश्वविद्यालय (Johns Hopkins University) र आवर ओर्ल्ड इन डाटा (Our World in Data)का अनुसार, साप्ताहिक औसत संक्रमण दरको प्रबृत्ति देखाएको छ। चित्रमा देखाइए जस्तै पछिल्लो अवस्थामा दक्षिण एसियाका सबै देशहरुमा दैनिक संक्रमण दरमा सुस्त वृद्धि भएको देखियो। अमेरिकाको संक्रमण दर, हालसम्मकै सबैभन्दा उच्च, ५२% भन्दा धेरै देखिन्छ भने बेलायतको संक्रमण दरमा पनि निकै वृद्धि भएको छ।

नेपालको दैनिक नया संक्रमण

यो हरेक दिन नेपालमा देखिएका या देखिने नयाँ संक्रमितहरुको संख्या हो। सन् २०२२ जनवरी २ देखि ८ (बि.सं २०७८ पुस १८ देखि २४) जम्मा ७ दिनको नेपालभरिको दैनिक परीक्षण, नयाँ संक्रमण र मृत्युको संख्या चित्र न.५ मा प्रस्तुत गरिएको छ। यस लेखमा पीसीआर परीक्षणलाई मात्रै गन्ति गरिएको छ।

नेपाल सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गत हप्ताको सात दिन, पुस १७ गते शनिबारसम्म,देशभरि जम्मा २९७५ जना नयाँ संक्रमित थपिई जम्मा संक्रमितको संख्या ८ लाख ३१ हजार ७ सय ४८ पुगेको छ। साप्ताहिक नयाँ संक्रमण संख्या दुई हप्ताअघि १ हजार ७ सय १५ थियो। त्यस्तै,साप्ताहिक मृत्युसंख्या गतहप्ता ८ रह्यो जुन दुई हप्ताअघि पनि ११ थियो। यो समेत नेपालको जम्मा कोरोना मृत्यु ११ हजार ६ सय २ पुगेको छ। गतहप्ता जम्मा ५५ हजार ४ सय १४ पीसीआर परीक्षण गरियो जुन दुई हप्ताअघि५१ हजार १२ थियो।

गत हप्ता काठमाडौँ उपत्यकाको साप्ताहिक संक्रमण अनुपात समग्र नेपालको तुलनामा औसतमा ६५.४१%जति देखिएको छ जुन दुई हप्ताअघि ६४.७% थियो। अर्थात् गतहप्ता देशको कुल दैनिक संक्रमण मध्ये ६५.४१%काठमाडौँ उपत्यकामा मात्रै भेटिएको थियो।

नेपालको दैनिक संक्रमण (पोजिटिभिटी) दर (Positivity Rate)   

प्यानडेमिकको मापदण्डहरुमध्ये पोजिटिभिटी (संक्रमण दर) एक सबैभन्दा भरपर्दो मापदण्ड हो जसले परीक्षण गरिएकामध्ये कतिजनामा संक्रमण पोजिटिभ देखियो भन्ने देखाउँदछ।

चित्र न.६ ले  नेपालको गतहप्ताको दैनिक कोरोना संक्रमण दर देखाएको छ जुन बढ्दै गएको प्रबृत्ति देखिन्छ। गत हप्ता पोजिटिभिटी दर न्यूनतम ३.०% देखि अधिकतम ७.१३% सम्म रही साताभरिको औसत पोजिटिभिटी दर ५.३३% रह्यो जुन दुई हप्ताअघि ३.६०% थियो। नेपालमा पछिल्लो समय औसत साप्ताहिक संक्रमण दर वृद्धि हुने क्रम निरन्तर देखिएको छ।

संक्षेपमा, गतहप्ता, बि.सं २०७८ पुस १८ देखि २४, नेपालमा साप्ताहिक नयाँ कोरोना संक्रमण र संक्रमण दर बढेको पाइयो यद्यपि मृत्यु भने केही कम रह्यो। त्यस्तै सिंगो देशको तुलनामा काठमाडौँ उपत्यकाको औसत साप्ताहिक संक्रमण अनुपात बढ्ने क्रम गतहप्ता पनि जारी रह्यो। हाल देशभरिको दैनिक कोरोना संक्रमण मध्ये ६५% भन्दा धेरै काठमाडौँ उपत्यका मात्रै भेटिने गरेको छ।

त्यस्तै गत हप्ता दक्षिण एसियामा समग्ररुपमा दैनिक संक्रमण निकै बढेको पाइयो यद्यपि दैनिक मृत्यु भने स्थिर देखियो। युरोप र अमेरिकामा केही हप्तादेखि सुरु भएको नयाँ प्यान्डेमिक लहर र ओमिक्रोन भ्यारिएन्ट निकै आक्रामक ढंगले बढेको पाइयो।

प्यान्डेमिककालमा कोरोना संक्रमण कहाँ कसरी बढ्छ त्यसको कुनै निश्चित अड्कल छैन जुन कुरा हाल विश्वका विभिन्न देशहरुमा चलिरहेको पछिल्लो लहरले पनि पुष्टि गर्दछ।तसर्थ कोरोना संक्रमण घटेको छ भन्दैमा होसियारी र सतर्कता नअपनाउनु ठूलो गल्ति साबित हुन सक्दछ।

तथ्यांकले जेसुकै देखाए पनि प्यान्डेमिकको यथार्थलाई एक पटक फेरि आत्मसाथ गर्नु पर्ने बेला आएको छ। हरेक व्यक्तिले भौतिक दुरी कायम गर्ने, मास्क लगाउने, हात राम्ररी धुने, अनाबश्यक भिडभाड नगर्ने आदि साबधानीका कुराहरु कडाइका साथ अपनाउनु पर्ने देखिन्छ। पछिल्लो समय अन्य देशहरुमा संक्रमण फेरि बढ्ने प्रबृत्ति देखिएको बेला नेपालमा पनि त्यसो नहोला भन्न सकिँदैन।

यस लेख नेपालमा साप्ताहिकरुपमा प्यान्डेमिक हेर्ने ऐनाको  रुपमा प्रस्तुत  गरिएको छ। यस लेखमा नेपाल र विश्वमा प्यान्डेमिकको बारेमा तथ्यांकले जे देखाउँछ। त्यही कुरालाई सरल रुपमा प्रस्तुत गरिएको छ। यस लेखमा प्रस्तुत गरिएका कुरालाई कसरी बुझ्ने र लिने आ-आफ्नो बुझाइ हो। जे भए पनि प्यान्डेमिक बिरुद्धको हाम्रो लडाईं जारी छ, होशियारीपूर्बक यसको सामना गर्नु नै बुद्धिमानी हुनेछ।

(डा. श्रेष्ठ ललितपुर ग्वार्कोस्थित एन्डबी अस्पतालका कन्सल्टेन्ट न्युरोसर्जन हुन्।)

prabinshrestha@hotmail.com

पुस २५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्