लुम्बिनीका ९ जिल्लामा एमालेको नयाँ नेतृत्व चयन, दबाब दिएर उम्मेदवारी फिर्ता गराइएको भन्दै असन्तुष्टि

बुटवल– नेकपा एमालेको जिल्ला अधिवेशनअन्तर्गत लुम्बिनी प्रदेशका ९ जिल्लामा नयाँ नेतृत्व चयन भएको छ। १२ जिल्लामध्ये ९ जिल्लामा भएको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो।

लुम्बिनीका कपिलवस्तु र नवलपरासी पश्चिममा मात्रै चुनाव भएको छ भने अन्यमा सहमतिका आधारमा नेतृत्व घोषणा गरिएको छ। प्यूठानमा आइतबार मात्रै निर्वाचन भएको छ।

तर सहमतिका आधारमा भनिए पनि उम्मेदवारी दिएका व्यक्तिहरुलाई पार्टी केन्द्रको निर्देशन भन्दै उम्मेदवारी र उम्मेदवारी शुल्कसमेत फिर्ता गराएर कार्यसमिति घोषणा गरेको भन्दै केही स्थानमा असहमति देखिएको छ।

एमाले अर्घाखाँचीमा विवाद सतहमा आएको छ भने रुपन्देहीसहितका केही जिल्लामा केन्द्रीय निर्देशन भन्दै निर्वाचन हुन रोकेर सहमतिका नाममा दबाब दिएर उम्मेदवारी फिर्ता गराइएको आरोप एकपक्षले लगाएको छ।

आइतबारसम्म घोषित परिणामअनुसार रूपन्देहीमा तेजेन्द्र केसीको अध्यक्षतामा जिल्ला कार्यसमिति चयन गरिएको छ। यसअघि जिल्ला उपाध्यक्षसमेत रहेका पुरुषोत्तम घिमिरेले शनिबार अध्यक्षमा उम्मेदवारी दिए पनि आइतबार दिउँसो केसीलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएपछि केसी निर्विरोध निर्वाचित भएको घोषणा गरिएको थियो।

उपाध्यक्षमा जागेश्वरदेवी चौधरी, सचिवमा यज्ञ गैरे र उपसचिवद्वयमा चित्रबहादुर कार्की र हितराज पन्थी पनि सर्वसम्मत चुनिएका छन्। सचिवमा पनि गैरेसँगै खेमप्रसाद लुइँटेलले उम्मेदवारी दिए पनि लुइँटेलले उम्मेदवारी फिर्ता लिएका हुन्।

नेकपा एमाले अर्घाखाँचीमा पिताम्बर भुसालको अध्यक्षतामा नयाँ नेतृत्व निर्वाचित भएको छ। एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य रहेका भुसालको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा गरेपछि अर्घाखाँचीमा विवाद सिर्जना भएको छ।

उम्मेदवारी दिनका लागि फाराम भरेकाहरुलाई पनि केन्द्रको निर्देशन भन्दै उम्मेदवारी फिर्ता लिन लगाएर नयाँ नेतृत्व घोषणा गरेको असन्तुष्ट पक्षले आरोप लगाएको छ।

जिल्ला नेतृत्व चयनमा मनपरी भएको भन्दै युवा संघका केन्द्रीय सचिव गोविन्द प्रसाद भुसालले पार्टीबाटै राजीनामा दिएका छन्। उनले भनेका छन्, ‘नेकपा एमालेका वडा, नगर हुँदै हालै सम्पन्न राष्ट्रिय महाधिवेशन तथा जिल्ला अधिवेशनसम्म आइपुग्दा यस पार्टीभित्र चरम गुटबन्दी, व्यक्तिगत मनोमानी, चरम अवसरवाद, नातावाद कृपावाद र नेतृत्वमा देखिएको निरंकुशता जस्ता प्रवृत्तिबाट हामीजस्ता इमानदार र निष्ठावान नेता तथा कार्यकर्ताहरु एमाले पार्टी र यसका जनवर्गीय सङ्ठनहरुमा रहेको निरन्तर काम गर्न सक्ने अवस्था नदेखिएकाले आजका मितिदेखि राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय सचिवलगायतका सम्पूर्ण जिम्मेवारीबाट राजीनामा गर्दै नेकपा एमालेको साधारण सदस्यसमेत नरहने गरी एमाले परित्यागको घोषणा गर्दछु।’

नेतृत्व चयनको लागि निर्वाचन भएको कपिलवस्तुको अध्यक्षमा डम्मर शर्मा विजयी भएका छन्। अध्यक्षका लागि शर्मासँगै बाबुराम खनाल र नेत्रराज अधिकारीले दाबी नछोडेपछि शनिबार मतदान गरिएको थियो। मतदानमा शर्माको पक्षमा २ सय ३८ मत खस्दा खनालको पक्षमा १ सय ८६ र अधिकारीको पक्षमा १ सय मत खसेको निर्वाचन समितिले जनाएको छ।

अध्यक्षसँगै उपाध्यक्ष, सचिव र उपसचिव पनि मतदानबाट चुनिएका छन्। जसअनुसार उपाध्यक्षमा ३ सय ४५ मत लिएर विश्रामप्रसाद थारू निर्वाचित भए। उनका प्रतिष्पर्धी हिरालाल पौडेलले १ सय ६६ मत मात्रै ल्याएका छन्।

त्यस्तै तीन जनाले प्रतिस्पर्धा गरेको सचिवमा विश्व कार्की निर्वाचित भए। कार्कीले १ सय ७९ मत ल्याउँदा उनका प्रतिस्पर्धी सीबी गहतराजले १ सय ७४ र भेषराज पाण्डेले १ सय ६३ मत ल्याएका थिए। उपसचिवमा अर्जुन केसी १ सय ३१ मत ल्याएर विजयी भएका छन्। उपसचिवमा उम्मेदवारी दिएका विकास आचार्यले ६१, तेजेन्द्र पाण्डेले ५८ र विनोद चौधरीले २६ मत ल्याएका थिए।

पश्चिम नवलपरासीमा दीपेन्द्र कार्की अध्यक्षमा निर्वाचित भएका छन्। कार्कीले २ सय ३२ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी थानप्रसाद गैरेले १ सय ८५ मत ल्याएका थिए। नवलपरासीको उपाध्यक्षमा डोलराज भण्डारी, सचिवमा धिरज शर्मा बस्याल र उपसचिवद्वयमा राजनकुमार आचार्य र रिंगला यादव निर्वाचित भएका छन्।

दाङमा हुकुमबहादुर बस्नेत अध्यक्षमा निर्वाचित भएका छन्। यसअघि उपाध्यक्ष रहेका बस्नेतको अध्यक्षतामा १ सय २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। जिल्लाको उपाध्यक्षमा राममणि पाण्डे, सचिवमा मनोहर बुढाथोकी, उपसचिव कृष्ण भुसाल र हीरादेवी पुन चयन भएका छन्।

पाल्पामा पनि धनेन्द्रराज घिमिरेको अध्यक्षतामा १ सय ५ सदस्यीय नयाँ नेतृत्व चयन भएको छ। उपाध्यक्षमा देवीलाल लामिछाने, सचिवमा रामजी पोखरेल र उपसचिवमा टीका थापा तथा सुनिता शर्मा चयन भएका छन्।

यस्तै गुल्मी जिल्ला अध्यक्षमा बालसिंह काउछा, बाँके अध्यक्षमा किस्मत कुमार कक्षपति र बर्दिया जिल्ला अध्यक्षमा लालबहादुर श्रेष्ठ सर्वसम्मत चयन भएको एमालेले जनाएको छ।

प्यूठानमा अध्यक्ष पदमा विजयविराज बिष्ट, नेहरसिंह केसी, अजय सिंह र मधुर शर्मा गरी चार जनाको उम्मेदवारी परेको छ। त्यस्तै सचिवमा दुई तथा उपाध्यक्ष र सहसचिवमा पनि ४–४ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ।

रुकुम पूर्व हिमाली जिल्ला भएकाले पछि मात्र अधिवेशन हुनेछ भने रोल्पामा एमाले जिल्ला सचिवको निधन भएकाले अधिवेशन स्थगित गरिएको छ।

यी हुन् नौ जिल्लाका अध्यक्ष

१. पाल्पाः धनेन्द्रराज घिमिरे
२. गुल्मीः बालकृष्ण काउछा मगर
३. अर्घाखाँचीः पिताम्बर भुसाल
४. बाँकेः किस्मतकुमार कक्षपति
५. बर्दियाः लालबहादुर श्रेष्ठ
६. दाङः हुकुमबहादुर बस्नेत
७. रुपन्देहीः तेजेन्द्र केसी
८. कपिलवस्तुः डम्मर शर्मा
९. नवलपरासी (पश्चिम): दीपेन्द्र अधिकारी

पुस २५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्