कोरोनाको तेस्रो लहरसँग लड्न तीन तहबीच सहकार्य आवश्यक छः मुख्यमन्त्री शाही

सिमकोट – मुख्यमन्त्री जीवनबहादुर शाहीले कोरोनाको सम्भावित आउन सक्ने तेस्रो लहर रोक्न पूर्व तयारीमा लाग्न सरोकारवालालाई निर्देशन दिएका छन्। मुख्यमन्त्री शाहीले जनशक्ति व्यवस्थापनमा सरकारले तयारी गरिरहेको बताउँदै स्थानीय तह र स्वास्थ्य संस्थालाई कोरोना महामारीको पूर्वतयारीमा जुट्न निर्देशन दिएका हुन्।

मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको मुख्य प्रवेशद्वार भेरीगंगा नगरपालिकाको छिन्चुमा ५० बेडको सरुवा रोग अस्पताल निर्माणका लागि प्रक्रिया सुरु गरिएको जानकारी दिए। कोरोनाको सम्भावित तेस्रो लहरको सामना गर्न सरोकारवाला सबै निकाय तयारी अवस्थामा रहनुपर्ने भन्दै उनले आइतबार मेहलकुना अस्पताल र छिन्चुको संक्रमण रोग अस्पताल निर्माण हुने स्थान निरीक्षण गर्दै सो कुरा बताएका हुन्।

मुख्यमन्त्री शाहीले तीन तहका सरकारबीच सहकार्य र समन्वय गरेर सम्भावित महामारी रोक्न पहल गर्नु आवश्यक रहेको बताए।

उनले सुर्खेतसहित सल्यान, जाजरकोट, रूकुम, डोल्पामा अक्सिजन अभाव हुन नदिन मेहलकुनामा प्रदेशकै ठूलो अक्सिजन प्लान्ट स्थापना गरिएको जानकारी दिए। मुख्यमन्त्री शाहीले अब कर्णालीमा अक्सिजन अभाव नहुने बताए। सुर्खेतसहित रुकुम, दैलेख, कालिकोटलगायत जिल्लामा अक्सिजन प्लान्ट स्थापना गरिएका छन्।

मुख्यमन्त्री शाहीले कर्णाली भित्रिने मुख्य नाकामा कोरोना परीक्षण गरेर मात्रै प्रदेशभित्र भित्र्याइने बताए। सुर्खेतको कुइनेमा अस्पताल सञ्चालन भइरहेको र बबईबाट आउने कर्णालीबासीका लागि छिन्चुमा क्वारेन्टाइन बनिरहेको उनले बताए।

त्यसैगरी उनले सल्यानको कपुरकोट नाकामा पनि आवश्यक तयारी थालिएको बताए। गुर्भाकोट नगरपालिकाका मेयर हस्त पुनले कर्णालीको आधा जनसंख्यालाई सेवा दिइरहेको मेहलकुना अस्पताललाई जनशक्ति, पूर्वाधार र औषधिजन्य उपकरणले सम्पन्न बनाइनुपर्ने बताए।

पुस २५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्