खोप कार्ड नहुँदा सर्वसाधारणले सेवाबाटै बञ्चित हुने?

फाइल

काठमाडौँ– कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को आइतबारको बैठकले सार्वजनिकस्थल प्रवेशका लागि कोरोनाविरुद्धको खोप कार्ड अनिवार्य गर्न सिफारिस गरेको छ। कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि सीसीएमसीले माघ ७ गतेदेखि लागू हुने गरी सरकारी कार्यालय, होटल, रेष्टुरेन्ट, रंगशाला, हवाइजहाज, पार्कलगायतका सार्वजनिकस्थल प्रवेशमा खोप लगाएको कार्ड अनिवार्य गर्नुपर्ने सिफारिस गरेको हो।

यस्तै सीसीएमसीले नियमित खोप केन्द्रहरूमा खोपलाई अभियानकै रूपमा अगाडि बढाउन पनि स्वास्थ्य मन्त्रालयलाई सिफारिस गरेको छ।तर, कुल जनसंख्याको आधाले पनि खोप नलगाएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ।

सोमबारसम्म नेपालमा एक करोड ५१ लाख ७२ हजार ५२७ जनाले एक मात्रा खोप लगाएका छन् भने पूर्ण खोप लगाउनेको संख्या एक करोड १२ लाख ३२ हजार ६८३ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ। यस्तै पछिल्लो ४२ घण्टामा २ लाख १० हजार ५९४ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ।

सीसीएमसीले भने खोप लगाएकालाई मात्रै सार्वजनिक सेवा दिन सरकारी निकायहरूलाई सिफारिस गर्दैगर्दा खोप नलगाएकाहरु ठूलो संख्यामा सेवा लिनबाट बन्चित हुने देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासिनी बताउँछन्।

उनले भने, ‘अहिलेको अवस्थामा सरकारले गाउँगाउँमा खोप लगाउने व्यवस्था गर्नुको साटो खोप कार्डको निर्णय गर्नु गलत हो। आधा जनसंख्यालाई समेत खोप नलगाएको अवस्थामा यस्तो निर्णयले ठूलो संख्यामा सेवा लिनेहरु प्रभावित हुने देखिन्छ।’

तर, मन्त्रालय भने यो कुरा स्वीकार्न तयार छैन। मन्त्रालयका सह–प्रवक्ता समीरकुमार अधिकारी सरकारले खोप अभियानका धेरैभन्दा धेरैलाई समेटिसकेको बताउँछन्। उनले भने, ‘अहिले खोप नलगाएको कोही पनि छैन। पहुँच बाहिरका केही छुट्नुभएको छ। उहाँहरुलाई खोप लगाउनका लागि हामी सम्बन्धित निकायसँग समन्वय गरेर खोप अभियान सुरु गरिसकेका छौँ।’

सरकार आफ्नो लक्ष्यको नजिक पुगिसकेको उनले दावी गरे।

उसो त सरकारले देशका विभिन्न कोल्ड चेनमा खोप थन्किदै जाँदा दैनिक रुपमा ५ लाख डोज लगाउने जनाएको थियो, जुन पूरा गर्न सकिरहेको छैन। पछिल्लो समय मन्त्रालयको तथ्याङ्क हेर्ने हो भने खोप लगाउनेहरुको संख्यामा कमि देखिएको छ।

भारत संक्रमणको तेस्रो लहरमा प्रवेश गर्दैगर्दा यसको प्रभाव नेपाल देखिसकेको छ। यसको जोखिमबाट बच्नका लागि कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाउनु पर्ने विज्ञहरुले बताएका छन्।

यस्तै विश्व स्वास्थ्य संगठनले संक्रमणको दर कम गर्नका लागि कुल जनसंख्याको ७५ देखि ८० प्रतिशतले पूर्ण मात्रा खोप लगाउनु पर्ने बताएको छ। तर, नेपाल यो लक्ष्यसम्म पुग्न अझै लामो समय लाग्ने देखिएको छ।

यसो त सरकारले पुस मसान्तसम्म ६६ प्रतिशतलाई खोप लगाइसक्ने लक्ष्य लिएका थियो। सोमबारको तथ्याङ्क हेर्ने हो भने सरकारले आफूले लिएको लक्ष्य पूरा नहुने देखिएको छ।

खरिद र अनुदान गरी तीन करोड ९२ लाख ३ हजार ९२७ डोज खोप भित्रिसकेको मध्ये ९७ लाख ८८ हजार ३३० डोज खोप मौज्दात रहेको आपूर्ति व्यवस्थापन शाखाले जनाएको छ।

खोप स्टकमा राख्नुको साटो खोप अभियानलाई तीव्रता दिनु उपयुक्त हुने डा. मरासिनीले बताए।

सरकारले गएको माघ १४ गतेबाट देशव्यपी रुपमा कोरोना भाइरसविरुद्धको खोप अभियान संचालनमा ल्याएको थियो। खोप अभियान संचालन भएको एक वर्ष पुग्नै लाग्दासमेत कुल जनसंख्याको ३७ प्रतिशले मात्रै पूर्ण मात्रा खोप लगाएका छन्।

पुस २६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्