पृथ्वीनारायण शाह र आजको नेपाल

विषय सन्दर्भ

आज नेपालको मानचित्र बदल्ने नायक पृथ्वीनारायण शाहको ३००औं जन्मोत्सवको दिन हो। उनको राजनीति, कुटनीति, सूचना, सैनिक र आर्थिक रणनीतिको सफल व्यवस्थापनबाट नेपालको मानचित्र बदलिएको हो। उनको नेपाल एकीकरण अभियान १८०१ सालको नुवाकोट युद्धदेखि १८६१ मा कागडा युद्धसम्ममा नेपाल पुन: पूर्वमा टिस्टा, दक्षिणमा मगध र पश्चिममा सतलज नदी सम्म विस्तार भएको थियो।

पनाती गीर्वाण युद्धविक्रम शाहको पालामा सुगौली सन्धि र पछि जंगबहादुर कुँवरबाट नयाँ मुलुक फिर्तापछि आजको नेपालको मानचित्रमा सीमित भएको हो। अर्थात्, पृथ्वीनारायण शाहको एकीकरण अभियानको अन्त्य भएको हो।

विषय प्रवेश

समाज विकासको क्रममा राज्यहरु बन्ने, भत्कने, फैलने, खुम्चने, टुक्रने र फेरि शक्तिशाली साम्राज्य बन्ने क्रम हुँदै आएको छ। प्राचीन नगरराज्यदेखि आधुनिक साम्राज्यको इतिहास यही प्रक्रियाबाट अगाडि बढ्दै आएको छ। नेपालको इतिहास पनि यही प्रक्रियाले अगाडि बढ्दै आएको छ।

किराँती, लिच्छवी, शाक्य, विदेह, सिम्रौनगढ, मल्य, ठकुराई, सिंजा तथा खस साम्राज्य सोही प्रक्रियाले बन्दै आए। मगरात, बाइसे, चौबिसे, सेन, पूर्वी किराँत, चौदण्डी, विजयपुर, लम्जुङ्ग, गोरखा आदि असंख्य टुक्रामा विभाजित राज्यहरु इतिहासका यथार्थ हुन्।

यी विभाजित नेपाली टुक्रे मनोदशामा आन्तरिक कलह, वैमनश्यता, षडयन्त्र तथा कचिङ्गल थियो। दक्षिणतिरबाट मुगल साम्राज्यपछि अंग्रेजी साम्राज्यको फैलदो चकचकी र उत्तरतिर चिनिया–तिब्बती बादशाहको राईझाई। यस्तो समयको पूर्वसन्ध्यामा लम्जुङ्गे शाही राजकुमार द्रव्य शाहले लिगलिगकोटको घले राज्यलाई कब्जा जमाई गोरखालाई नियन्त्रण लिएसँगै गोरखा राज्यको स्थापना गरेका थिए।

गोरखा राज्यमा लिगलिगकोट, सिह्रानचोक, अजिरगढ, बारपाकसमेत सामेल गरी नेपाल एकीकरणको आधारस्तम्भ खडा गरेका थिए। उनीपछिका छोरा नातिहरु सल्यान, मैधी, थरी, खरी, धादिङ्ग, त्रिशूली र सेम्जुङ्ग हुँदै नेपाल खाल्टोमा आँखा पुर्‍याउँदै थिए। यिनै द्रव्य शाहकै पछिल्ला सन्तति पृथ्वीनारायण शाहले गोरखा राज्यको विस्तार गरी विशाल नेपाल निर्माणको महाअभियान थालेका थिए।

पृथ्वीनारायण एकीकरण

पृथ्वीनारायण शाहले अगाडि बढाएको नेपाल निर्माणको अभियानले नेपाल राष्ट्रको जग मात्र होइन, आयतन पनि विशाल बन्यो। महाअभियानको विरगाथाले नेपाली साँस्कृतिक पहिचानको धरोहर खडा गरायो। विश्व साम्राज्यको रङ्गमञ्चमा स्वतन्त्र बलियो राष्ट्रको गणना कायम गरायो।

यी सबै श्रेयको प्रमुख नेतृत्वकर्ता पृथ्वीनारायण शाह नै हुन्। आधुनिक नेपालको इतिहासले उनलाई एकीकरण र राज्य पुनः निर्माणका महानायक बनाएको छ। उनलाई युगयुगसम्म महानायकको सूचीमा कायम राख्नेछ। आज उनको जन्मजयन्तीका अवसरमा नेपाल निर्माणका महाअभियन्तामा हार्दिक श्रद्धासुमन।

नेपाल एकीकरणको सम्पूर्ण श्रेय पृथ्वीनारायण शाहलाई मात्र जान्न, गोरखाली राज्यका संस्थापक द्रव्य शाहलाई पनि दिनु पर्दछ। गोरखाली जनताको शौर्य, वीरता र बलिदानलाई पनि जाने गर्दछ। एकीकरणपछि मिलेर बाँकी अभियानमा सामेल हुने सबै नेपालीलाई जान्छ। आजसम्म र युगयुगसम्म मिलेर मुलुकको रक्षा गर्ने तथा सँगै बस्ने नेपालीलाई जान्छ। तर यो अभियानका अगुवा नेता पृथ्वीनारायण शाहलाई मुख्य श्रेय जान्छ। पृथ्वीनारायण शाहले आजको नेपाल राष्ट्रको जग नबसालिदिएको भए पनि अरु कसैले शुरु गर्नै पर्दथ्यो। त्यसो नभएको भए यो देशको अस्तित्व रहने थिएन। हामी नेपालीहरुको अस्तित्व रहने थिएन। हाम्रो राष्ट्रियता बन्ने थिएन र गौरवशाली इतिहास पनि बन्ने थिएन। यसैले पृथ्वीनारायण शाह एकीकृत नेपालको ऐतिहासिक आवश्यकताले जन्मिएका महापुरुष हुन्।

त्यतिबेलाको नेपाल टुक्रे सामन्ती रजौटा राज्य थियो। युरोपमा पुनर्जागरण आन्दोलनपछिको स्वतन्त्रताको युग शुरु भइसकेको थियो। टुक्रे र विभाजित भारतमा ब्रिटिस साम्राज्यको तुँवालो लाग्दै थियो। यस्तो अन्तर्राष्ट्रिय परिस्थितिमा नेपालमा बलियो केन्द्रीकृत सामन्ती राज्यको आवश्यकता थियो। यो समाज विकासको अनिवार्य माग थियो। यो ऐतिहासिक माग पूरा गर्ने जिम्मेवारी पृथ्वीनारायण शाहले लिएका थिए। यसै वस्तुगत आवश्यकताले नेपाल एकीकरण भएको थियो।

ऐतिहासिक आवश्यकतामा एकीकरण

नेपाली पछिल्लो मनोविज्ञानमा केही सन्देह वा भ्रान्ति पैदा गरिदिएका छन्। पृथ्वीनारायण शाहले गरेको एकीकरण हो वा राज्य विस्तार ? उनलाई नायक मान्ने कि खलनायक भन्ने कुराको सन्देह बेला बखत उठाउने गरेको पाइन्छ। वास्तवमा उनीबाट भएको एकीकरण राज्य विस्तार पनि हो र उनी विस्तारवादी पनि हुन्। हामीले भनिसकेका छौं कि पृथ्वीनारायण शाहले राज्य विस्तारबाटै एकीकरण अभियान अगाडि नबढाएको भए अरु कसैले नै कसैले सुरु गर्नै पर्दथ्यो।

द्रश्य शाह अगाडिपछाडिका धेरै राजाहरुले पनि पटकपटक राज्य विस्तार गर्ने प्रयत्न गरेका थिए। इतिहासमा बिजुगिषुका राज्यहरु मध्ये विक्रमको आठौं सदीमा जयदेव (द्वितीय), चौथो शताब्दीमा खस राजा पुण्य मल्ल, सोह्रौं शताब्दीमा रुद्र सेन र बीसौं शताब्दीमा कान्तिपुरे राजा जयप्रकाश मल्लजस्ता पृथ्वीनारायण शाहलाई २६ वर्षसम्म थर्काउने राजा नभएका होइनन्।

तर उनीहरुको आपसी अन्तरकलह, अन्तरघात र भोगविलासको लम्पटताको कारण राज्य विस्तार टिकाउन सकेनन्, बरु टुक्राटुक्रा पारेर अंशबण्डामा विभाजन गरेका थिए। जुम्लाका राजा जितारी मल्लले तीन–तीनपटक गोरखा, नुवाकोट र काठमाडौं भित्रका राज्य कब्जा गरेकै हुन्। जयप्रकाश मल्लले अंग्रेजको सहयोग पाएर पनि गोरखालीहरु धपाउन सकेका थिएनन् र काठमाडौं खाल्डो मिलाउन पनि सकेका थिएनन्। पाल्पाली सेन वंशले चाहेर पनि ढङ्ग पुर्‍याउन सकेका थिएनन्।

उनीहरुमा एकीकरण र साम्राज्यको बलियो सङ्कल्प थिएन, नत सही योजना, दृढ इच्छाशक्ति र बिजुगिषु भावना नै थियो। यस्तो परिस्थितिमा पृथ्वीनारायण शाहमा भएको प्रबल दृढ संकल्पमा नेपाल एकीकरण भईछाड्यो। नेपाल राष्ट्रको स्वतन्त्र र बलियो पहिचान स्थापित भयो। आजको यो गौरवशाली नेपाल राज्य स्थापना भयो।

हो, पृथ्वीनारायण शाह पनि वंशगत रुपमा भन्दा खस ठकुरी विरासत भएकोले उनीमा महत्वाकांक्षी, हठी र अहंकारी स्वभाव हुनु सामान्य कुरा मान्नुपर्छ। उनको राज्य विस्तार अभियानमा केही ज्यादती भएकै थिए। सामन्ती ठकुराई परिवेशमा वैवाहिक तथा यौनजन्य कमजोरी हुन सक्दछन्। उनको छापामार युद्धनीतिमा झुक्याउने, छक्याउने वा जालझेलको रणकौशल अवश्य थियो।

रक्तपात र बलीदानीपूर्ण युद्धमा प्रतिशोध र क्रूरतापूर्ण घट्ना घट्नु स्वभाविक हुन जान्छ। उनको हडबडे स्वभावजन्य कमजोरीबाट अनावश्यक क्षति भएको हुन सक्छ। यी र यस्ता सानातिना कुराले पृथ्वीनारायणको मूल्याङ्कनलाई साँघुराउन र अवमूल्याङ्कन गर्न हुँदैन। उनको अपमान गर्ने महाभुल गर्नु हुँदैन।

आजको सन्दर्भमा पृथ्वीनारायण शाह

पृथ्वीनारायण शाह एउटा लडाकू योद्धा वा सफलनायक मात्र होइनन्। राजनीतिज्ञ, कुटनीतिज्ञ र आर्थिक, साँस्कृतिक, नीतिकार पनि थिए। उनले आफ्ना भारदारहरुमार्फत भावि पिंढीलाई दिएका अर्ती उपदेश (दिव्य उपदेश)मा गहकिला विचार प्रस्तुत गरेका छन्। ती उपदेश आजसम्म सामयिक रहेका छन्। योग्य नेतृत्व चयन गर्ने विधि, कानुनी राज्यको अवधारणा, सुशासन कायम गर्ने कुरा, आत्मनिर्भर र स्वदेशवादी आर्थिक साँस्कृतिक नीति आजको गणतान्त्रिक राज्यलाई पनि त्यतिकै सान्र्दभिक देखिन्छन्। ‘मेरा साना दुःखले आर्ज्याको मुलुक होइन, सबै जातको फूलबारी हो, सबैलाई चेतना भया’ भनेर नेपाल एकीकरणको सन्दर्भमा भएको ठूलो बलीदानी पीडामा भावना जोड्दै सबै जातको फूलबारी वा साझा मुलुक भनेर आफू मगरात, किरात लगायत सबैको साझा राजा भएको विनम्र सन्देश दिएका थिए।

उनले एकीकृत नेपालका बुद्धिमान र न्यायिक शासकको जुन परिकल्पना गरेका थिए त्यो भने उनका कान्छा छोरा बहादुर शाह बाहेक कसैले त्यसको मर्म बुझेनन्।

सबैजसो उनीपछिका सन्तान र वंश सुख, सयल, रतिराग, गद्दी स्वार्थमा चुर्लुम्म डुबे। दरबारभित्र र बाहिर षडयन्त्र, हत्या, हिंसा र घोर अपराधमा संलग्न हुँदै आए। पृथ्वीनारायणले दिएका सकारात्मक अर्ती उपदेशलाई सिरानीमा राखी उनकै बद्ख्वाई गर्नेतिर लागे। उनका उपदेश र थिति विरुद्ध एकीकरणका महान योद्धारुपी भारदार र उनका विर सन्तानलाई अपमान मात्र होइन, मुलाकाटे जस्तै कटाए। विगतका थुप्रै भाइ–दाइको अपमान तथा हत्या षडयन्त्रको पछिल्लो वा अन्तिम उदाहरण राजा वीरेन्द्रको वंशनासबाट स्पष्ट हुने गर्दछ।

युरोप एसियामा नेपालभन्दा धेरै पछाडि बनेका राष्ट्रहरुले धेरै उन्नति, प्रगति गर्दा पनि उनीपछिका धेरैजसो राजाहरुले मागेर खाने र विदेशी सहयोग माग्ने कामबाहेक केही गरेनन्। नेपालको हालत अत्यन्त पछौटे अवस्थामा पुर्‍याउने काम गरे। जसको परिणाम स्वरुप जनआक्रोशबाट नेपालमा राजतन्त्रको अन्त्य र लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ। यस नयाँ प्रणालीले पृथ्वीनारायण शाह जस्तै दूरदर्शी, बुद्धिमान र निस्वार्थी बलियो शासकरुपी सेवकको माग गरिरहेको छ। तर आजसम्म त्यसको संकेत देखिएको छैन। आशा गरौं, ऐतिहासिक आवश्यकताले त्यो पूरा हुनेछ।

आजको सन्दर्भमा हामी नेपालीहरुले पृथ्वीनारायण शाह र उनको योगदानलाई उच्च मूल्यांकन गर्नुपर्दछ। विविधताभित्रको एकता र एकताभित्रको विविधताको मार्मिक पहिचान हाम्रो साझा धरोहर हो। यही नेपाली साझा धरोहरका प्रतीक पृथ्वीनारायण शाह हाम्रा राष्ट्रिय विभूति हुन्।

उनलाई राष्ट्रिय पिताको रुपमा लिनुपर्दछ। आज हामी राष्ट्रिय एकताको प्रतीक के र को हुने भन्ने विषयमा अन्यौलमा छौं। देश बन्दैछ वा बिग्रिरहेको छ भन्ने कुरामा पनि विभाजित छौं। हामी सबै क्षेत्रका बुद्धिजीविहरु धैर्यताबोध र कर्तव्यबोधको लामो यात्राबाट विचलित छैनौं। हुँदैनौ पनि। देश बिग्रनु र सप्रनुमा हाम्रो भूमिका अवश्य पनि रहने गर्दछ।

हामी सबैको चेतना भया।

(लेखक चुँदाली वाम बुद्धिजीवि हुन्।)

पुस २७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्