माघे संक्रान्ति नजिकिएसँगै काठमाडौँमा तरुलको व्यापार बढ्यो

फाइल तस्बिर।

काठमाडौँ– माघे संक्रान्ति नजिकिएसँगै काठमाडौँमा तरुलको व्यापार बढेको छ। काठमाडौँको कालिमाटीस्थित फलफूल तथा तरकारी बजारमा गत वर्षको तुलनामा तरुलको व्यापार बढेको हो।

तरुलको व्यापार राम्रो भइरहेको सर्लाहीका व्यापारी रामबाबु साहले बताए। उनले आफूले सर्लाहीबाट तरुल ल्याएको र त्यसको मूल्य प्रतिकेजी ७० रुपैयाँ रहेको पनि बताए। गत वर्षभन्दा यस वर्ष तरुलको व्यापार बढेपनि मूल्य भने नबढेको साहको भनाइ छ।

यस्तै चितवनबाट ल्याइएको रातो तरुल भने प्रतिकेजी १५० रुपैयाँसम्ममा बिक्री भइरहेको व्यापारी ईश्वर ढकालले बताए। रातो तरुल राम्रो हुने भएकाले यसको मूल्य अन्य तरुलको भन्दा बढी भएको उनको भनाइ छ।

व्यापारीहरुका अनुसार यस वर्ष काठमाडौँमा सर्लाही र चितवनको तरुल बढी भित्रिएको छ। ग्राहकहरुले पनि सस्तो मूल्य हुने भएकाले कालिमाटी बजारबाटै तरुल खरिद गर्ने गरेको बताएका छन्।

अघिल्लो वर्ष कोरोनाका कारण तरुलको व्यापार घटेको थियो भने मूल्य केही बढेको थियो। माघे संक्रान्तिमा तरुल पनि खाने प्रचलन रहिआएको छ। पोषणविद्हरुका अनुसार तरुलले हाम्रो शरीरलाई बलियो बनाउने पोषण दिने गर्दछ।

पुस २७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्