नेपालगञ्ज नाकाको हेल्थ डेस्कमा खटिएका पाँच स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

फाइल तस्बिर।

नेपालगञ्ज – नेपालगञ्ज नाकामा रहेको हेल्थ डेस्कमा खटिएका पाँच जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन्।

भारतबाट आएका नेपालीको कोरोना परीक्षण गर्न खटिएका पाँच जना स्वास्थ्यकर्मी नै संक्रमित भएका हुन्।

नेपालगञ्ज नाकामा भारतबाट आएका व्यक्तिमा कोरोना देखापरिरहेको छ। भारतका विभिन्न शहरबाट आएका ठूलो संख्याका मानिसलाई भीडकै बीचमा कोरोना परीक्षण गर्ने गरिन्छ।

हेल्थ डेस्कमा काम गर्ने स्वास्थ्यकर्मी नै संक्रमित भएपछि उनीहरुलाई आइसोलेसनमा पठाएर अरु कर्मचारीबाट परीक्षण गर्ने काम भइरहेको जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीले जानकारी दिए।

नेपालगञ्ज नाकामा मंगलबारमात्रै ३७ जनामा कोरोना पुष्टि भएको छ। ३ सय ९६ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो।

नेपालगञ्जका तीन वटा ल्याबमा ६४ जनाको परीक्षण गर्दा १५ जनामा कोरोना पुष्टि भएको छ। भेरी अस्पतालमा २९ जनाको परीक्षण गर्दा दश जना, कोहलपुर मेडिकल कलेजमा २२ जनामा तीन जना र बागेश्वरी ल्याबमा १३ जनाको जाँच गर्दा दुई जनामा कोरोना देखिएको हो।

पुस २७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्