सुदूरपश्चिममा एक सातामा थपिए ८८१ जना कोरोना संक्रमित

धनगढी– सुदूरपश्चिम प्रदेशमा एक सातायता कोरोना संक्रमण दर निरन्तर उकालो लागेको छ। पछिल्लो एक सातामा मात्र प्रदेशमा ८८१ जना संक्रमित थपिएका छन्।

संक्रमितमध्ये गत बुधबार (पुस २१ गते) ५५ जनामा, बिहीबार १ सय २० जनामा, शुक्रबार १ सय ५८ जनामा, शनिबार १ सय ३३ जनामा, आइतबार ६२ जनामा, सोमबार १ सय ५९ जनामा र मंगलबार १ सय ९४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

उनीहरूमध्ये कञ्चनपुरको गड्डाचौकी र कैलालीसँग सीमाना जोडिएको गौरीफन्टा नाका भएर स्वदेश फर्किने धेरै छन्। कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले कोरोना पुष्टि भएका व्यक्तिलाई धनगढीको कनरीस्थित आइसोलेसनमा राख्ने गरिएको बताए।

खासगरी भारतबाट फर्किरहेकाहरुमा संक्रमण बढी देखिएको छ। कैलालीको त्रिनगर नाका र कञ्चनपुरको गड्डाचौकी नाकाबाट स्वदेश फर्किरहेकाहरुमध्ये दैनिक करिब एक सय जनामा कोरोना संक्रमण पुष्टि भैरहेको छ।

कैलाली भारतसँग सीमाना जोडिएको जिल्ला भएका कारणले पनि अन्य जिल्लाभन्दा बढी कोरोनाको जोखिममा रहेको छ। यसमा पनि भारतीय नागरिक अवैध सीमानाकाबाट व्यवसायको लागि नेपाल प्रवेशको क्रम नरोकिएकाले पनि जोखिम बढेको कैलालीको भजनी नगरपालिकाका जयबहादुर बुढाले बताए। उनले दैनिक भारतबाट नेपाल आउने भारतीय नागरिकलाई प्रशासनले अझै पनि रोक्न नसकेका कारण जोखिम बढेको बताए।

‘भारतमा कोरोनाको संक्रमण वृद्धि हुँदा मुख्य सीमानाकामा मात्रै कडाइ गरेर जोखिम कम हुनसक्ने अवस्था छैन,’ उनले भने, ‘सीमानाकामा कडाइ गरी भारतबाट आएका नेपाली नागरिकलाई पनि अनिवार्य क्वारेन्टिनमा राख्नसके संक्रमण कम गर्न सकिन्छ तर, यही अवस्थामा संक्रमण बढ्दै गएपछि हामीजस्ता न्यून आय भएका नागरिकलाई दैनिकी चलाउन निकै मुस्किल हुने निश्चित छ।’

कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले भारतबाट आउने नेपालीको संख्यामा वृद्धि भएको बताए। उनीहरूको सीमानाकामा कोरोना परीक्षण गर्ने र आउने–जानेको तथ्यांक राख्ने काम सुरु गरेको उनले जानकारी दिए।

उनले अहिलेको समयमा मेला महोत्सव पनि हुने गरेको र माघीको समयमा हुने मेलाले संक्रमण झन् बढ्न सक्ने जनाउँदै त्यस्ता गतिविधि नगर्नसमेत आग्रह गरेका छन्।

प्रजिअ थापाले धनगढीको त्रिनगर भन्सार र टीकापुरको सत्ती भन्सारबाट आउने नेपाली नागरिकको कोरोना परीक्षण पश्चात मात्रै नेपाल प्रवेश गर्न दिइएको बताउँदै सम्भावित लक्षण देखिएकालाई आइसोलेसनमा राख्ने गरिएको जनाएका छन्।

पुस २७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्