फाइल तस्बिर

काठमाडौँ – माघ १८ देखि २३ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा हुने भनिएको क्यान इन्फोटेक २०२२ स्थगित गरिएको छ।

काठमाडौँ उपत्यकालगायत देशका प्रमुख सहरहरुमा व्यापक रुपमा फैलिएको संक्रमण, कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का पछिल्ला सिफारिस तथा निर्णयहरु, गृह मन्त्रालय एवं काठमाडौँ उपत्यकाअन्तर्गतका जिल्ला प्रशासन कार्यालयलगायत कोभिड नियन्त्रणसम्बन्धी सरकारका पछिल्ला निर्णयहरुलाई ध्यानमा राख्दै क्यान इन्फोटेक २०२२ अर्काे निर्णय नभएसम्मको लागि हाललाई स्थगित गरिएको हो।

क्यान महासंघका महासचिव नारायण थापाले मंगलबार एक सूचना जारी गर्दै क्यान इन्फोटेक २०२२ हाललाई स्थगित भएको जानकारी दिएका हुन्। क्यान इन्फोटेक तयारीको क्रममा सहयोग पु¥याउने सबलाई हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दै क्यान इन्फोटेक स्थगितका कारण पर्न गएको असुविधाप्रति सम्बन्धित सबैसँग क्यान महासंघले क्षमासमेत मागेको छ।

सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति क्यानले सन् १९९५ देखि वर्सेनि क्यान इन्फोटेक आयोजना गर्दै आएको छ। २७ औं क्यान इन्फोटेकको शीर्ष प्रायोजन आईएमई पे र सहप्रायोजन स्मार्टच्वाइस टेक्नोलोजिज (एससिटी) का साथै सूचना तथा सञ्चार प्रविधिसम्बन्धि अन्य कम्पनी तथा संस्थाहरुको सहभागिता रहने गरी सम्पूर्ण तयारी पूरा गरिएको महासंघले जनाएको छ।

पुस २८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्