‘काफल कमला’ को फिमेल भर्जन हिट भएपछि जनकले यसरी सम्झे गीत रेकर्ड गर्दाको समय (भिडियो)

काठमाडौँ –

काफल खान्या कुईयाँ, मर्योला जुनकिरी सिसाकी गोलीले, सिसाकी गोलीले,
लाग्दै माया बढ्दै गयो ल जुनकिरी त्यो तिम्रो बोलीले, त्यो तिम्रो बोलीले

तीन हप्ता अगाडि अस्मिता अधिकारीको स्वरमा युट्युबमा अपलोड भएको ‘काफल खान्या कुईयाँ’ ले नेपाली संगीत प्रेमीमाझ धमाका मच्चायो। अपलोड भएको तीन सातामा गीतलाई ४० लाख भन्दा धेरैपल्ट हेरिसकिएको छ।

४ वर्ष अगाडि यही गीतलाई गायक जनक ताम्राकारले गाएका थिए। संगीतकर्मी अलमोडा राना उप्रेतीले एरेञ्ज गरेको यो गीत अपलोड गरेको ४ वर्षमा १ करोड २० लाखपल्ट हेरिसकिएको छ। चार वर्षपछि त्यही गीत महिलाको स्वरमा सार्वजनिक गर्दा पनि दर्शक, श्रोताले नबिर्सेको देखेर जनक मख्ख छन्।

देश सञ्चारसँगको भेटमा उनले ‘काफल कमला’ को अर्थ सम्झाए अनि आफूले गाउँदाको समय सम्झे।

काफल खान्या कुईयाँ, मर्योला जुनकिरी सिसाकी गोलीले, सिसाकी गोलीले, – काफल खाइरहेकी ढुकुर (डोटेली भाषामा कुईयाँ) सिसाको गोली लागेर मर्‍यो (यो राइम मिलाउन भनिएको हो।

लाग्दै माया बढ्दै गयो ल जुनकिरी त्यो तिम्रो बोलीले, त्यो तिम्रो बोलीले – ठीकठीकै लागिरहेको तिम्रो माया तिम्रो बोली सुनेपछि झन् बढ्दै गयो।

सामान्य अर्थ राख्ने यो गीत गएको चार वर्षयता असाध्यै चर्चामा छ। संगीतको शक्ति नै यही हो, सामान्यलाई ‘खास’ बनाइदिने । यो गीतले गायक ताम्राकारको एकधारमा हिँडिरहेको जीवनमा पनि थुप्रै मोडहरु ल्याइदियो जसलाई सुनाउन उनी उत्साहित देखिन्छ।

उनले गीतको सफलतासँगै सिर्जनाका समयका रचनात्मक पाटो साझा गरे। यो गीतको ‘म्यास अप’ गाएका जनकले यो गीतको सर्वत्र पहिचान हुनुमा दाजु महेश ताम्राकारको महत्वपूर्ण भूमिका रहेको बताए। महेश संगीतका ज्ञान भएका गीतकार हुन्। उनले कुमाउको लोक गीतका शब्द संकलन गरे अनि त्यहाँको संगीतलाई संगालेर ‘म्यास अप’ बनाए। गीतको शब्द स‌ंकलन गरे, भाइलाई गाउन लगाउने सोचका साथ अलमोडालाई भेट्न गए।

अलमोडा त्यो समय असाध्यै डिमान्डिङ एरेञ्जर थिए, पहिलो मिटिङमा उनले गीतमा काम गरेर लाभ नहुने ताम्राकार दाजुभाइलाई सल्लाह दिएका थिए।

‘एरेञ्ज त म गर्छु, तर भाषा फरक भएकोले चल्छ, चल्दैन भन्नु भयो। डोटेली भाषामा कुमाउ भाकाको यो गीत उहाँलाई नौलो लागेको थियो। पहिलो मिटिङ ठोस निर्णय नभई टुंगियो।’ जनकले भने, ‘अर्को दिन हामीले हामीलाई संगीत एरेञ्जमेन्ट मात्रै भएपुग्छ, यो गीत साँस्कृतिक सद्भावसँग जोडिएको छ भनेपछि अलमोडाजी अलि इम्प्रेस हुनुभयो र हामीले तयारी गर्‍यौँ।’

जनकले उल्लेख गरेको साँस्कृतिक सद्भाव सुदूरपश्चिमेली नेपालीको रोजिरोटीसँग जोडिएको छ। डोटी, सुदुरपश्चिमका मानिसहरुको कमाइ गर्ने थलो भारत हो। सिमा क्षेत्र जोडिएका यी दुई देशबिच बासिन्दामा रोजीरोटीको बहानामा भाषा र सँस्कार पनि मिसिन्छन्। सिमानाले भिन्न देशका बासिन्दा बनाएपनि सँस्कार, बोलीचालीका भाषाले यी दुई क्षेत्रमा आत्मियता ल्याउँछ।

जनकले हेर्दै हुर्केको सँस्कार पनि यही थियो। महेशले यसलाई साँस्कृतिक मेल बनाउने कल्पना रचे र गीतको नयाँ स्वरुप बन्ने भयो। महेशले गीत भाइलाई गाउन लगाए । जनकको शैली पश्चिमी संगीतसँग पनि परिचित छ र उनी सुदूरपश्चिमको लोक भाका र सँस्कारसँग पनि परिचित छन्, यो गीतलाई फ्यूजन बनाउने महेश सपनालाई जनकको स्वर सबैतिरबाट योग्य भएझै भयो र महेशले जनकलाई स्टुडियो लगे।

जनकलाई आफ्नै स्वर सुन्दा र अनि भिडियो हेर्दा लाग्यो लाज

जनकले पहिलो गीत डोटेली भाषमा नै रेकर्ड गराएका थिए, त्यसपछि रेकर्ड हुन लागेको थियो ‘काफल कमला’ । दाइ महेशले उनलाई प्रस्ताव त राखे, तर दाइको प्रस्ताव उनको लागि आदेश थियो।

‘मलाई आधुनिक गीतहरु गाउँन काम गर्न मन लाग्ने, दोस्रो गीत पनि डोटेली भयो भने नाम नै डोटेली गायक बन्ला जस्तो लाग्यो’, जनकले त्यतिबेलाको आफ्नो मनस्थिति सम्झे, ‘मलाई दाइले सम्झाउनु भयो, यो संगीतलाई मेनस्ट्रिममा लगौँ, यसले संगीतको अवधारणालाई विस्तार गर्छ भन्नुभयो। मेरो उमेरले मलाई यस्ता गहन कुरा बुझ्न सहयोग गरेन। मलाई पपुलर हुन मन पर्थ्याे। झन् म त रियालिटी शोमा गएको मान्छे, यो गीतले झन् पछि पर्छु कि झै लाग्यो हा.हा.हा।’ उनी दाइको वचन राख्न गए।

अलमोडासँग सल्लाह गरेर गीत रेकर्ड गरी फाइनल हुँदा झण्डै ५ महिना जति समय गयो। जनक काम विशेषले ओखलढुंगा बस्थे। गीतको डमी छोड्दै उनी काममा जान्थे। गीत सार्वजनिक हुँदा पनि उनलाई थाहा थिएन। मात्र थाहा थियो, अलमोडाजीको च्यानलबाट अपलोड गर्ने भन्ने। किनकि गीतको सबै व्यवस्थापन महेश ताम्राकारले गरिरहेका थिए।

‘मैले त फेसबुक खोलेर हेर्दा मात्रै थाहा पाएको हो। गीतलाई ठूला ठूला कलाकारहरुले आफ्नो प्लेटफर्ममा सेयर गरेका रहेछन्, राम्रो प्रतिक्रिया आएको देखेर म दंग भएँ,’ हाँस्दै उनले भने, ‘तर मलाई आफैलाई भिडियोमा हेर्दा सारै असहज भयो। म उसै त काले, भिडियोमा झन् कालो देखिएको रहेछु।’

गीत रेकर्ड गर्दा पनि उनलाई पहिलोपल्ट आफ्नै स्वर सुन्दा आफैलाई असहज पनि भएको थियो तर फाइनल प्याकेजमा स्वर ठिकै लागेको थियो। उनि भन्छन्, ‘आफ्नो स्वर सुन्दा आफैलाई कस्तो कस्तो लाग्छ नि त, अस्मिताजीको स्वर सुन्दा त रमाइलो लागिरहेको छ।’

त्यसपछि गीत भाइरल भयो।

उनी भन्छन्, ‘हिजोआज गीतको सफलता भ्यूजमा गनिन्छ, तर मैले गाएको गीत अरुले गाएको देखेँपछि मलाई यो गीत हिट भयो जस्तो लाग्यो। किनकी गीत सार्वजनिक भएको केही समयमा नै यो गीत धेरै ठाउँमा गुनगुनाएको भनेर भिडियोहरु प्राप्त भयो, नेपाल आइडलको पहिलो अडिसनको क्लिप नै यो धनगढीमा केटाहरुको एक समूहले यो गीत गाएकोबाट देखाइयो।’

उत्तराखण्डमा पनि उनको गीतको चर्चा भयो, ‘मैले जनकलाई जेबाट नभई जेड बाट लेख्ने गरेको थिए, उता समाचार आएछ, ‘झनक दाइ नामसे यो गाना भाइरल हो रहा हे।’ मलाई चाहिँ मजा लाग्यो।’ उनको लागि सफलता नै दर्शकको मनमा गीत बस्नु हो। जनकले आफ्नो गीत बालकदेखि वृद्धले गाएको देखेका छन्।

संगीतको भूगोल हुँदैन। जनक र महेशले पनि सुदुरपश्चिमेली र कुमाउँ जातिबीच सीमित भएको ‘काफल कमला’ लाई अन्य भूगोल र भाषाभाषीको बीचमा छरिदिए। भाषा नबुझे पनि यो गीत प्रिय छ।

कुमाउ सँस्कारको लोक भाका युट्युबमा ‘टक टका टक कमला’ नामले अपलोड गरिएको छ। यो गीतलाई ललितमोहन जोशीले गाएका छन्। भिडियोमा उनी फौजी भएको उल्लेख गरिएको छ। परदेशमा रहेको फौजीले आफ्नी प्रिया (कमला) भेट्ने कप्पना गर्दै यो गीत गाएको देखाइएको छ।

‘फिमेल भर्जन’ कसरी बन्यो?

गीत हिट भएपछि जनकले अन्तर्वार्ता दिए। संयोगले एक दिन गायिका अस्मिता अधिकारीसँग उनले साथै अन्तर्वार्ता दिँदै थिए। त्यतिबेला अस्मिताले ‘माया हो’ बोलको गीत गाएकी थिइन्। प्रस्तोताले अस्मितालाई जनकको गीत गाउन लगाए, अनि अस्मिताले गुनगुनाएको त्यो गीतमा दर्शकको प्रतिक्रिया आयो, ‘यो गीत अस्मितालाई पनि गाउन लगाउनु पर्छ।’ त्यो कुरा ‘जिटु वान’ डिजिटलले पक्डेको रहेछ। जनक यसका सँस्थापकसँग पहिलादेखि नै सम्पर्कमा थिए। एक दिन जनकलाई फोन आयो अनि बन्यो ‘काफल कमला फिमेल भर्जन’ ।

‘गीत समयको माग अनुसार बनाइएको हो, तर हामीलाई पनि यो गीत अझै माथि जाओस्, फरक तरिकाले लानु पछै जस्तो लागिरहेको थियो।’ जनकले भने, ‘हामी सफल भयौँ।’

जनकको सांगीतिक यात्रा

जनक सांगीतिक माहोलमा हुर्किएका थिए। जनक बुवाले घरमा हार्मोनियम बजाएको देखिदेखि हुर्केका हुन्। टुक्का लेखेको, लय हाली सुनाएको उनको स्मृतिमा ताजै छ। त्यसपछि जेठा दाजु महेशले व्यवसायिक रुपमा आफूलाई यो क्षेत्रमा ल्याउने तयारी गरेको पनि जनकले देखे।

‘सन् २००७ तिर हो जस्तो लाग्छ, त्यो बेला क्यासेट चल्थ्यो। दाइले गीत रेकर्ड गराएको क्यासेट दुर्भाग्यवश डिस्ट्रिब्यूट भएन। त्यसपछि मैले उहाँलाई संगीतसँग खुलेर रमाएको देख्न पाइन। १० वर्ष उमेर फरक छ हामीबीच त्यसैले म उहाँको यात्राको धेरै कथा सुन्ने मात्र हुँ।’ दाजुसँगको अफ्ठेरो जनकले बताए।

‘म चाहिँ सन् २०१० मा नेपाल टेलिभिजनबाट प्रसारित ‘द सिङ्गिङ स्टार’ भन्ने कार्यक्रमको हिस्सा हुन पुगेँ। भोटिङ राउन्डबाट बाहिरिएपछि सन् २०११ तिरबाट म बाहिर शोहरु गर्न थाले। अरु प्रतियोगितामा सहभागी हुँदै गएँ।’

सन् २०१६ मा उनले फेसबुकमा एउटा कभर गीत पोस्ट गरेका थिए, आफैले गीतार बजाएर । गीत निकालौँ भनेर नारायणगढबाट खिम मगरले फोन गरे। डोटेली भाषामा गीत रेकर्ड भयो, यसले उनलाई नेपाली सांगीतिक क्षेत्रमा डेब्यू गरायो। त्यसपछि मात्र उनले काफल कमला गरेका हुन्। काफल कमलाको सफलताले उनलाई यही क्षेत्रमा आफ्नो भविष्य खोज्ने बलियो बाटो देखाइदियो। गीत संगीतको ज्ञानसँगै उनी रेकडिङ अनि मिक्सिङ लगायत स्टुडियोको काम पनि सिक्ने गरिरहेका छन्।

उनले स्टुडियोको काम सिक्नुको कारण पनि खुलाए, ‘संगीतमा दाइको नराम्रो अनुभवले परिवारलाई पक्कै तर्साएको थियो, त्यसैले संगीतमा आयआर्जन हुने सबै पाटोको ज्ञान मैले लिन चाहेको हुँ। गीत पनि गाउने तर अनि यता पनि सँगै जाने भन्ने योजना छ।’ गीत गर्न थालेपछि उनलाई खुसी मिल्छ, दाइ महेश ताम्राकार पर्दा पछाडि बसेर उनलाई सक्ने सहयोग गरिरहेका छन्।

पढाइ अहिले संगीतमा स्नातक तहमा पुगेको छ। संगीतले मज्जाको नाम दिएपछि स्नातक तहमा पढ्दै गरेको समाजशास्त्रलाई उनले बीचमै छोडिदिए र संगीत सम्बन्धी नै अध्ययन गर्न थाले । ‘काफल कमला’ पछि उनले अरु गीत पनि गाए, तर सफलताको यो उचाइ गीतले चढ्न पाएको छैन। जनक यसमा स्पष्ट छन्, ‘हामी एक्सपेरिमेन्टल गीतहरु गरिराखेका हुन्छौँ, सबैलाई मन नपर्न पनि सक्छ।’

‘काफल कमला’ को २ भर्जन, ‘पुरुष र महिला’ दुबै हिट भयो। पछिल्लो समय एउटै गीतको धेरै भर्जन निकाल्ने चलन पनि रहेको छ।

जनकलाई यस्तै केही योजना छ कि भन्ने प्रश्न गर्दा उनले भने, ‘काफल नै त आउँदैन होला, तर सुदूरपश्चिमको जुन संगीतको लय हामीले समातेका छौँ, त्यो चाहिँ छोड्दैनौँ। कमर्सियल म्यूजिक पनि नगर्ने भन्ने त होइन। तर पहिलो प्राथमिकता सुदूरपश्चिमेली भाका नै हुनेछ।’

तस्बिरहरु : बर्षा शाह/देश सञ्चार

पुस २८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्