ललिता निवास जग्गा प्रकरण : सुवेदी दम्पती रिहा

काठमाडौँ – ललिता निवास जग्गा प्रकरणमा संलग्न रहेको अभियोगमा पक्राउ परेका सुवेदी दम्पती रिहा भएका छन्।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान सकाएर बुझाएको अभियोगपत्र सरकारी वकिल कार्यालयले फिर्ता गरेपछि उनीहरूलाई हाजिरी जमानीमा रिहा गरिएको प्रहरी उपरीक्षक तथा ब्युरोका प्रवक्ता श्यामकुमार महत्तोले बताए।

‘हामीले अनुसन्धानको क्रममा २५ दिनभन्दा धेरै राख्न मिल्दैन। त्यसैले अनुसन्धान सकाएर खोजेको बेला उपस्थित हुने गरी उहाँहरुलाई रिहा गरेका हौं’, उनले भने।

सीआईबीको टोलीले पुसको पहिलो साता रामकुमार सुवेदी र उनकी श्रीमतीलाई स्वयम्भूबाट नियन्त्रणमा लिएको थियो। उनीहरु बुधबार रिहा भएका हुन्।

ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ गते विशेष अदालतमा १ सय १० जनाविरुद्ध मुद्दा दायर गरेको थियो। मुद्दा दायर हुँदा सुवेदी दम्पती फरार थिए। उनीहरूलाई अदालतमा उपस्थित गराएर थप अनुसन्धानका लागि म्याद थप गर्ने काम भइरहेको प्रहरीले ज‍नाएको छ।

पुस २८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्