हुम्लाको पहिलो साक्षर गाउँपालिका बन्दै खार्पुनाथ

सिमकोट – हुम्लाको खार्पुनाथ गाउँपालिकालाई साक्षर घोषणा गर्ने तयारी तीब्र पारिएको छ। दुई वर्षअगाडिदेखि गाउँपालिकालाई साक्षर घोषणा गर्ने तयारी भएको थियो तर कोरोनाको कारण रोकिएको थियो। यसवर्ष भने साक्षर घोषणा गरिने गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले गाउँपालिकालाई साक्षर घोषणा गर्नका लागि २२ वटा बस्तीमा पुस तेस्रो हप्ताबाट साक्षरता कक्षा एकसाथ सञ्चालन गरिएको जानकारी दिए। उनले यसका लागि ५५ जना सहजकर्तालाई तालिम दिएर गाउँगाउँमा जनसंख्याका आधारमा परिचालन गरिएको छ। बीस जना सहभागीको समूह बनाएर दुई महिनासम्म साक्षरता कक्षा सञ्चालन हुनेछ। यसका लागि आवश्यक पाठ्यपुस्तक तथा स्टेशनरी सहजकर्तासँगै पठाएको गाउँपालिकाले जनाएको छ।

कक्षा सञ्चालनसँगै निरक्षरहरु कोही पनि साक्षरता कक्षामा सहभागी हुन नछुटून् भनेर प्रचारप्रसार अभियान पनि सञ्चालन गरिएको छ। त्यस्तै पाँच वटै वडामा अनुगमन समिति बनाएर साक्षरता कक्षाको अनुगमन गर्ने व्यवस्था गरिएको छ। गाउँपालिकामा हाल ७४ प्रतिशत साक्षरतादर रहेको छ। जसमा महिलाको ६५ र पुरुषको ८३ प्रतिशत रहेको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृकत शाहीका अनुसार गाउँपालिकाको कूल जनसंख्या ७ हजार ५४३ रहेको छ। गाउँपालिकाको दलित बस्तीमा बढी निरक्षर रहेको उनले बताए। जिल्लाका अन्य ६ वटा गाउँपालिकाले कुनै तयारी नगरेका बेला खार्पुनाथले कार्यक्रमलाई अभियानका रुपमा अगाडि बढाएको हो।

प्रमुख प्रशासकीय अधिकृत शाहीले हुम्लाको पहिलो साक्षर गाउँपालिका घोाषणा गर्ने लक्ष्यका साथ कार्यक्रम तीव्र बनाइएको बताए। उनका अनुसार घोषणा कार्यक्रम आगामी बैशाख महिनामा गरिनेछ।

पुस २८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्