हिमालयन क्यापिटलद्वारा विशिष्टकृत लगानी व्यवस्थापन सेवा

काठमाडौँ – हिमालयन क्यापिटल लिमिटेडले नेपालको पूँजी बजारको एक नवीन अभ्यासका रुपमा ग्राहकले नेप्सेमा नयाँ लगानी गर्दा प्राप्त हुन सक्ने प्रतिफलमा आधारित हिमालयन ‘अल्फा’ र ग्राहकको यथास्थितिमा रहेको पोर्टफोलियोमा प्राप्त हुन सक्ने प्रतिफलमा आधारित हिमालयन ‘सिग्मा’ नामका लगानी व्यवस्थापन योजनाहरु विकास गरेको छ।

हिमालयन ‘अल्फा’ योजनामा हिमालयन क्यापिटलले ग्राहकको लगानीमा वार्षिक रुपमा सिर्जना गरेको प्रतिफललाई सोही अवधिमा नेप्सेले प्रदान गरेको प्रतिफलसँग तुलना गरिनेछ। त्यस्तै हिमालयन ‘सिग्मा’ योजनामा हिमालयन क्यापिटलले ग्राहकको लगानीमा वार्षिक रुपमा सिर्जना गरेको प्रतिफललाई लगानीकर्ताले सुरुमा हस्तान्तरण गरेको धितोपत्रको पोर्टफोलियोले प्रदान गरेको प्रतिफलसँग तुलना गरिनेछ।

सिर्जित प्रतिफलको वार्षिक मूल्यांकन गर्दा हिमालयन क्यापिटलले ग्राहकको लगानीमा सिर्जना गरेको प्रतिफल बढी हुने अवस्थामा अधिक सिर्जित प्रतिफलमा मात्र अतिरिक्त सेवा शुल्क लाग्ने कम्पनीले जनाएको छ।

हिमालयन क्यापिटलले ग्राहकको लगानीमा नेप्सेले वा ग्राहकले हस्तान्तरण गरेको पोर्टफोलियोले प्रदान गरेको प्रतिफलभन्दा बढी प्रतिफल सिर्जना गर्न नसकेमा ग्राहकले अतिरिक्त सेवा शुल्क बुझाउनु नपर्ने बताएको छ।

पुस २८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्