विद्यार्थीलाई भूकम्पसम्बन्धी अभिमुखीकरण

सिमकोट – विद्यालयमा अध्ययनरत विद्यार्थीलाई भूकम्पसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ। भूकम्पबाट सुरक्षित रहन र समुदायमा यसको जनचेतना फैलाउनका लागि उक्त अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो।

सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्म सिमकोटले उत्तरी नाम्खा गाउँपालिकाको महाबौद्ध माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत ४० जना विद्यार्थीमार्फत भूकम्पसम्बन्धी जानकारी दिने अभिमुखीकरण बुधबार सञ्चालन गरेको हो। सशस्त्र प्रहरी नायब उपरीक्षक गेहेन्द्र भण्डारीले भूकम्प दिवसको पूर्वसन्ध्यामा विद्यार्थीमार्फत भूकम्पबारे जानकारी दिन सुरु गरिएको जानकारी दिए।

राष्ट्रिय भूकम्प दिवस माघ २ गते आउँदै छ। उनले पहिलो चरणमा महाबौद्ध माविका ४० जना छात्रछात्रालाई भूकम्पसम्बन्धी अभिमुखीकरण गरिएको बताए।

कार्यक्रममा प्रकोपबारे जानकारी, भूकम्प भनेको के हो ? भूकम्पबाट बच्ने उपाय, कसरी सुरक्षित रहन सकिन्छ भन्ने तरिका, भूकम्प प्रतिरोधी घर निर्माण, उद्धारलगायत विषयमा सहभागीलाई जानकारी गराउने कार्य भएको थियो।

सशस्त्र प्रहरी बलको आयोजनामा सञ्चालन भएको उक्त अभिमुखीकरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश आचार्य र सशस्त्र प्रहरी नायब उपरीक्षक भण्डारीले भूकम्पबारे सहजीकरण गरेका थिए।

प्रजिअ शर्माले भूकम्पबारे विद्यार्थीमार्फत सन्देश दिँदा सिधै समुदायमा पुग्ने भएकाले यस्ता कार्यक्रम जरुरी रहेको बताए। कार्यक्रममा सहभागी विद्यार्थीले पनि भूकम्पबारे जिज्ञासा राखेका थिए। दोस्रो चरणमा मानसरोवर माविका विद्यार्थी र सशस्त्र प्रहरीलाई समेत सो अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ।

पुस २८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्