जंगलमा भेटिएको झारलको मासु अनुसन्धान गर्न ल्याइयो डिभिजन वन कार्यालयमा

सिमकोट – तीन दिनअगाडि जंगलमा सिकारीले प्रयोगका लागि ठिक्क पारेको झारलको मासु प्रहरीले अनुसन्धानका लागि सदरमुकाम सिमकोट ल्याएर डिभिजन वन कार्यालयलाई बुझाएको छ।

कुन पक्षले झारलको सिकार खेलेर मारेको हो भन्ने पत्ता लगाउन अनुसन्धानका थालिएको प्रहरीले जनाएको छ।

नाम्खा गाउँपालिका–४ को याल्वाङ याङ्गार गाउँको क्षेत्रमा पर्ने जाइनी राष्ट्रिय वनमा सिकार खेलेर मारी पोलेर काटी प्रयोग गर्ने तयारी अवस्थामा राखेको झारलको मासु जंगलबाटै बरामद गरेर कार्यालयलाई बुझाइएको हो।

यस सम्बन्धमा प्रहरीले आफ्नोतर्फबाट अनुसन्धान गर्न प्रहरी निरीक्षकको टोली घटनास्थलमा पुगेर अनुसन्धान जारी रहेको प्रहरी नायब उपरिक्षक हेरम्भ शर्माले जानकारी दिए।

वन ऐनअन्तर्गत डिभिजन वन कार्यालयले यसको अनुसन्धान प्रक्रिया अगाडि बढाउनुपर्ने भएकाले झारलको मासु कार्यालयलाई बुझाएको हो। निमित वन अधिकृत लोकजंग शाहीले झारलको मासु कार्यालयमा पुगेको र सिलबन्दी गरी राखिएको बताए।

उनले झारल मारेको सम्बन्धमा प्रदेश कानुन नबनेकाले अनुसन्धान अगाडि बढाउन समस्या भइरहेकाले प्रमुख जिल्ला अधिकारीको समन्वयमा सहायक बन अधिकृत प्रतिमा पनेरुलाई अनुसन्धानका लागि खटाइएको बताए।

अनुसन्धानको जिम्मा पाएपछि पनेरुले तत्कालै घटनास्थलतर्फ जाने र अनुसन्धान गरेर प्रतिवेदन कार्यालयमा बुझाउने बताइन्। नाम्खा–४ का स्थानीयले उक्त झारल प्रहरीले नै सिकार खेलेर मारेको आरोप लगाउँदै आएका छन्।

यद्यपि, प्रहरीले आफूले झारल नमारेको जनाएको छ। प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले यसबारे प्रहरी निरीक्षकको अनुसन्धानको प्रतिवेदन आएपछि मात्रै भन्न सकिने बताए।

उनले प्रहरी चौकी मुचुले प्रहरीसँग भएका गोली सबै सुरक्षित रहेको र झारललाई मार्न हानिएको बन्दुकको गोली लागेको शरीरको भाग हेर्दा प्रहरीको बन्दुकले नहानेको देखिएको प्रारम्भिक प्रतिवेदन आएको बताए।

यसबारे बिस्तृत अध्ययन हुने भन्दै उनले दोषी जो–सुकै भए पनि कानुनी दायरामा ल्याएरै छाड्ने जनाए। झारललाई सिकार खेलेर मार्न कानुनी रूपमा बन्देज लगाइएको छ।

पुस २८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्