२२ वर्षदेखि बन्द कञ्चनपुरको मझगाउँ विमानस्थलको शिलान्यास

धनगढी – लामो समयदेखि बन्द रहेको कञ्चनपुरको मझगाउँ विमानस्थल पुनर्निर्माणका लागि शिलान्यास गरिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले भौतिक संरचना निर्माणका लागि बुधबार शिलान्यास गरेका हुन्।

शिलान्यास भएसँगै २२ वर्षदेखि बन्द कञ्चनपुरको मझगाउँ विमानस्थल निर्माण गरिने भएको छ। विमानस्थल निर्माणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले केएस कान्छाराम कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरेको छ।

विमानस्थलका भौतिक संरचना र धावनमार्ग बनाउन प्राधिकरणले २ करोड ५१ लाख बजेट विनियोजन गरेको मझगाउँ विमानस्थल पुनःसञ्चालन समितिका संयोजक रमेशचन्द ठकुरीले जानकारी दिए।

विमानस्थल निर्माणमा पर्यटन मन्त्रालयको ५०, प्रदेश सरकारको २५, भीमदत्त नगरपालिकाको १५ र दोधाराचाँदनी नगरपालिकाको १० प्रतिशत गरी ४५ करोड ६६ लाख ७१५ रकम व्यहोर्ने सहमति यसअघि नै भएको हो। विमानस्थलको लम्बाइ एक हजार ६६२ मिटरको रहनेछ भने ६६ बिघा जमिनमा विमानस्थल रहने बताइएको छ।

०३० सालदेखि सञ्चालमा आएको मझगाउँ विमानस्थल सुरक्षाको कारण देखाउँदै ०५६ सालमा बन्द भएको थियो।

‘अहिले १५ सय मिटर रनवे बन्दै छ। यसले मात्रै पुग्दैन,’ मन्त्री आलेले भने, ‘कम्तीमा पनि २५ सय मिटर बनाउनुपर्छ, हामी त्यो गर्छौं।’
विमानस्थल बनेमा यहाँको पर्यटन व्यवसाय पनि उकासिने उनको विश्वास छ।

भारतको दिल्लीबाट सिधै जहाज मझगाउँ विमानस्थलमा ल्याउन सकिने उनले बताए। मझगाउँ विमानस्थलमा १५ सय मिटरको रनवे, टर्मिनल भवन र ट्याक्सी स्ट्यान्डलगायत आवश्यक संरचना निर्माण गरिनेछ।

पुस २८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्