साल्ट ट्रेडिङका कर्मचारी पासवानमाथि भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोग

काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मल खरिद बिक्रीको रकममा अनियमितता गरेको आरोपमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, मल बिक्री केन्द्र, सल्यानका तत्कालीन जुनियर सहायक विजय कुमारपासवान माथि भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले मल विक्रीको रकम नियमानुसार हिसाबकिताब नराखी सार्वजनिक सम्पत्तिको हिनामिना र भ्रष्टाचार गरेको छानविनबाट खुलेको दावी सहित पासवान माथि बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो।

तत्कालीन साल्ट ट्रेडिङ कर्पोरशन, सल्यान मल बिक्री केन्द्रका इन्चार्ज पासवानले आफ्नो जिम्माको मौज्दाज रासायनिक मल संस्थाको आधिकारिक खातामा रकम दाखिला गरेपश्चात मल डेलिभरी गर्नुपर्नेमा आफुखुशी आफ्नो व्यक्तिगत खातामा बदनियतसाथ रकम जम्मा गरी १८ लाख ७६ हजार, ६ सय ६४ रुपैयाँ बराबरको रासायनिक मल हिनामिना गरेको छानबिनबाट खुलेको आयोगले जनाएको छ।

उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएकोले पासवानलाई सोही ऐनको दफा ३ को उपदफा १ र दफा ३ को उपदफा १ को खण्ड (च) बमोजिम १८ लाख ७६ हजार, ६ सय ६४ रुपैयाँ बराबर बिगो कायम गरी सजायको माग गरिएको छ।

पुस २८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्