माधवनारायण स्वस्थानी व्रतको विधिमात्र पूरा गरिने

फाइल तस्बिर

काठमाडौँ – यस वर्ष कोरोना भाइरसको नयाँ स्वरुप ओमिक्रोनको प्रकोप बढेका कारण परापूर्वकालदेखि सञ्चालन हुँदै आएको श्री माधवनारायण व्रतको नित्य पूजाआजा एवं धार्मिक विधि मात्र पूरा गरिने भएको छ ।

भक्तजनलाई कोरोनाबाट बचाउन यसो गर्न लागिएको हो । शालिनदी यातायात प्रालि, बाबा गोकर्णेश्वर प्रालिद्वारा सञ्चालित सार्वजनिक यातायातले जस्तोसुकै अवस्थामा पनि सेवा दिन तयार रहेको जनाएका छन् । यातायातले स्वास्थ्य मापदण्ड पूर्णरूपमा पालना गराएर सेवा सञ्चालन गर्ने श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले जनाएको छ ।

ऐतिहासिक, धार्मिक तथा पौराणिक तीर्थस्थल शालिनदीमा श्री माधवनारायण भगवानको एकमहिने व्रत बस्न साँखु आउने व्रतालुको लगत सङ्कलनको लागि नाम दर्ता एवं स्थान व्यवस्थापन गरिने समितिका अध्यक्ष मीजेन्द्रकाजी श्रेष्ठले जानकारी दिए ।

व्रत सुरु हुनुभन्दा केही दिन अगाडिदेखि नै बसोबासको व्यवस्था गर्न समितिले सहजीकरण गरिरहेको छ । व्रतालुलाई साँखुबाट बाहिर परदेश (पशुपति, फर्पिङ, पनौती र चाँगुनारायण स्थान) लाने क्रममा आवश्यक सर सामान ओसार्नका लागि गाडीको व्यवस्था गरिएको छ । बाटोमा हिँड्न आवश्यक सरसहयोग गर्न समितिले नेपाल स्काउट, सक्व क्र्यु, नेपाल रेडक्रस सोसाइटी साँखु उपशाखा, स्वयंसेवक र विभिन्न सङ्घसंस्थासँगको समन्वयमा आवश्यक बन्दोबस्तीका सामानको व्यवस्था गर्ने भएको छ ।

माधवनारायणको दूर दर्शन गराइने

हिँड्नै नसक्ने व्रतालुका लागि स्टेचरको व्यवस्था गरी बोकेर एक ठाउँबाट अर्को ठाउँमा पु¥याउन आवश्यक बन्दोबस्त गरिएको छ । यस वर्ष कोभिड–१९ को ओमिक्रोन भाइरसको प्रकोप बढ्दै गइरहेकाले भक्तजनको सुरक्षालाई ध्यानमा राखेर माधवनारायण भगवानको दूर दर्शनको व्यवस्था गरिने भएको छ ।

भक्तजन र व्रतालुबीच कम्तीमा दुई मिटरको दूरी कायम हुनेगरी बारबन्देज गर्ने तयारी भएको अध्यक्ष श्रेष्ठले बताए । व्रतालुसँग पूर्ण खोप लगाइएको कार्डको प्रति लिएर निमोनिया भए–नभएको यकिन गर्न एक्स–रे लिने व्यवस्था गरिएको छ । आवश्यक परे एन्टिजेन परीक्षणको व्यवस्थासमेत समितिले नै गर्ने भएको छ ।

शान्ति सुरक्षासम्बन्धी व्यवस्थापनमा शालिनदी परिसरभित्र विभिन्न ठाउँमा सिसीटिभी क्यामेराको व्यवस्था मिलाइने भएको छ । सामुदायिक प्रहरी सेवा केन्द्र तथा सामुदायिक प्रहरी एवं महानगरीय प्रहरी प्रभाग साँखुअन्तर्गत विशेष प्रहरी टोली परिचालन गर्ने निर्णय गरिएको छ । भक्तजनको सुरक्षाका लागि पर्याप्तमात्रामा मास्क र स्यानिटाइजर वितरण गरिनेछ ।

स्वयंसेवकका लागि मास्क, स्यानिटाइजर र पञ्जाकोसमेत व्यवस्था गरिने भएको छ । व्रतालुबाट टीका र प्रसाद ग्रहण गर्न चाहने भक्तजनका लागि छुट्टै व्यवस्था गरिने समितिले जनाएको छ । यस वर्ष माघ ३ गतेदेखि माधवनारायण व्रत सुरु हुने समितिले जनाएको छ ।

पुस २९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्