बेलायतमा एक हप्तामै ४३ लाखमा कोरोना भाइरस सङ्क्रमण !

लन्डन – बेलायतमा गत हप्ता ४३ लाख मानिसलाई कोभिड–१९ भएको अनुमान गरिएको छ। अघिल्लो हप्ताको कोरोना सङ्क्रमणका संख्या ३७ लाखबाट बढेर गत हप्ता ४३ लाख कायम भएको बेलायती राष्ट्रिय तथ्याङ्क कार्यालय (ओएनएस) बुधबार जानकारी दिएको छ।

इङ्गल्याण्डमा कोरोना भाइरसको फैलावट उच्च रहेको जनाइएको छ। यहाँको तथ्याङ्कअनुसार जनवरी ६ सम्मको हप्तामा १५ जनामध्ये एक जनामा यो कोरोना भाइरस सङ्क्रमण भएको जनाइएको छ। वेल्समा गत हप्ता २० मध्ये एक जनामा अर्थात गत हप्ता एक लाख ५७ हजार ९०० जनामा यो रोगबाट सङ्क्रमित भएको अनुमान गरिएको छ।

स्कटल्याण्डमा २० मा एक वा दुई ९७ हजार ४०० भन्दा बढी व्यक्ति सङ्क्रमित भएकाे बताइएको छ। उत्तरी आयरल्याण्डमा एक हप्तामा दुई लाख ३८ हजार मानिसहरू सङ्क्रमित भएकाे अनुमान गरिएको छ। कोभिड १९ को सङ्क्रमण इङ्गल्याण्डको पूर्वी भाग र लन्डनबाहेक इङ्गल्याण्डका सबै क्षेत्रहरूमा बढ्दै गएको ओएनएसले जानकारी दिएको छ।

बेलायतले पछिल्लो २४ घण्टाको अवधिमा एक लाख २९ हजार ५८७ जनामा कोभिड–१९ सङ्क्रमण भएको छ। हाल बेलायतमा कुल कोरोना सङ्क्रमितको संख्या १ करोड ४८ लाख ६२ हजार १३८ जना पुगेको बुधबार सार्वजनिक भएको आधिकारिक तथ्याङ्कले जानकारी दिएको छ।

गत २४ घण्टामा बेलायतमा थप ३९८ कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु भएको छ। यससँगै कोरोनाको कारण मृत्यु हुनेको संख्या एक लाख ५१ हजारभन्दा बढी पुगेको ओएनएसले जनाएको छ। बेलायतमा १२ वर्ष र सोभन्दा माथिका ९० प्रतिशतभन्दा बढीले खोपको पहिलो डोज पाएका छन् र ८३ प्रतिशतभन्दा बढीले दुवै डोज खोप लगाएका छन्।

पछिल्लो तथ्याङ्कअनुसार ६२ प्रतिशतभन्दा बढीले कोरोना भाइरस खोपको तेस्रो डोज प्राप्त गरेका छन्। -रासस/सिन्ह्वा    

पुस २९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्