दोहोरो नागरिकता बनाउन सिफारिस गरी घुस लिने वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोग

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोहोरो नागरिकता बनाउन सिफारिस गरी सेवाग्राहीसँग घुस माग्ने वडा अध्यक्ष र सदस्यलाई भ्रष्टाचार मुद्दा चलाएको छ।

स्याङ्जा भिरकोट नगरपालिका वडा नं ९ का वडाध्यक्ष भिम बहादुर गुरुङ र वडा सदस्य कुल बहादुर गुरुङले सेवाग्राहीसँग नागरिकता बनाउन सिफारिस गर्दा घुस लिएको अनुसन्धान खुलेको आयोगले जनाएको छ।

वडाध्यक्ष भिम बहादुर र वडा सदस्य कुल बहादुरले नागरिकता बनाइदिन सेवाग्राहीसँग एक लाख ३५ हजार रुपैयाँ घुस रकम लिएको आधारमा दुवै जना जनप्रतिनिधिलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१)  बमोजिमको कसुरमा उक्त रकम बराबरको बिगो कायम गरी सोही ऐनको दफा ३ को (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजायको माग र घुसको एक लाख ३५ हजार रुपैयाँ सेवाग्राहीलाई नै फिर्ता दिलाइ पाउन मागसहित मुद्दा दायर गरिएको जनाइएको छ।

आर्थिक प्रलोभनमा परी दोहोरो नागरिकता बनाउन झुट्टा विवरणको आधारमा बदनियतपूर्वक गलत सिफारिस गरिदिएको पुष्टि हुन आएको हुँदा दुवै जना जनप्रतिनिधिमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ बमोजिमको कसूरमा ऐनको दफा १९ को उपदफा (२) बमोजिम सजायको मागदावीसहित आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम बिहीबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

पुस २९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्