खोप कार्ड अनिवार्य गरेपछि टेकुमा थामिनसक्नु भिड (भिडियो)

काठमाडौँ– यत्रतत्र छरिएका मानिसहरु, त्यही बीचमा लामो लाइन। भीड छिचाल्दै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको सानो गेटबाट निस्कदै गरेका एक युवक फोनमा भन्दै थिए,‘कोरोनाभन्दा पनि यहाँ लाइन देखेर डर लागिसक्यो।’

टेकुमा खोप लगाउन पुगेकाहरुको भीड थेग्न नसकिने छ। पछिल्लो समय संक्रमण दर बढ्दै गएका बेला यसरी भीडभाड गर्दैगर्दा संक्रमणको जोखिम उच्च रहने विज्ञहरुले बताएका छन्।

यसैबीच सीसीएमसीले गएको आइतबार माघ ७ गतेदेखि कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्कजस्ता सार्वजनिक स्थलमा अनिवार्य कोरोनाविरुद्धको खोप लगाएको कार्ड वा कार्डको फोटोका आधारमा मात्रै प्रवेश दिन सिफारिस गरेपछि विभिन्न खोप केन्द्रहरुमा खोप लगाउनेहरुको संख्या बढ्दो देखिएको छ।

टेकु अस्पतालले डेढ महिनादेखि नियमित रुपमा कोरोना भाइरसविरुद्धको खोप लगाउँदै आएको थियो। तर, केही दिनयता खोप लगाउनेको संख्या अस्पतालले थेगिनसक्नु छ।

खोप नलगाए रोजगारीमा समेत समस्या देखिने भएका कारण केही दिनयता खोप लगाउनेको संख्या बढ्न थालेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालकी निर्देशक डा. मनीषा रावलले बताइन्।

‘आइतबार अगाडिसम्म खोप लगाउनेको संख्या ५ देखि ७ सयसम्ममा थियो। त्यो बेला हामीले सहज रुपमै खोप लगाउँदै आएका थियौँ। आइतबारदेखि खोप लगाउन आउनेको संख्या अत्याधिक बढेको छ। यो ग्राफ बढ्दै गएको छ। दैनिक तीन हजारको हाराहारीमा खोप लगाइरहनु भएको छ। पहिलाको डाटा र अहिलेको डाटा हेर्दा धेरै विभिन्नता देखिएको छ’, उनले भनिन्,‘सरकारले खोप कार्डको आधार बनाएपछि खोपको आवश्यकता रहेछ भन्ने हिसाबले खोप लगाउन आउनेको संख्या बढेको देखिएको छ।’

खोप कार्ड अनिवार्य देखाउनु पर्ने भनेपछि धेरै खोप लगाउन आएको अस्पतालको तथ्याङ्कले देखाएको छ। धेरैजसो पहिलो डोजका लागि खोप लगाउन आउने गरेको उनले बताइन्।

‘धेरैले बुस्टरका लागि यति धेरै खोप लगाउन आएको होला भनिरहेका छन्। तर, यो नहुन सक्छ। खोप कार्ड अनिवार्य भन्नुभन्दा अगाडि पनि त यो जमात देख्न सकिन्थ्यो होला। खोप लगाउन आउने धेरै पहिलो डोज र दोस्रो डोजका लागि आउने गरेको पाइएको छ’, उनले भनिन्,‘खोप लगाउन आउनेमध्ये युवा जमात धेरै देखिएको छ। १८/१९ वर्षदेखि सुरु भएर ४५ वर्षसम्मका व्यत्तिहरु लाइनमा लागेको देखिन्छ। यो ग्रुप भनेको विभिन्न ठाउँमा काम गर्ने हो। हरेक ठाउँमा कार्ड चाहिने भएपछि खोप लगाउन आएकोजस्तो देखिएको छ।’

खोप लगाउन आउने भीडलाई हेर्दा अझै पनि धेरैले खोप नलगाएको अनुमान गर्न सकिने उनले बताइन्।

यस्तै अस्पतालले भीडलाई व्यवस्थापन गर्नका लागि बिहान ८ः३० देखि ४ बजेसम्म नै खोप लगाउँदै आइरहेको छ। तर, अन्य खोप केन्द्रहरुमा भने १० बजेदेखि खोप लगाउने व्यवस्था गरिएको छ।

सरकारले अहिले १८ वर्षभन्दा माथिको उमेरका जुनसुकै नागरिकका लागि कोभिशिल्ड, भेरोसेल र जोनसन एण्ड जोनसन खोप लगाउने व्यवस्था गरेको छ भने १२ वर्षदेखि १७ वर्षसम्मका किशोरकिशारीहरुका लागि मोदर्ना र फाइजर खोप लगाउने व्यवस्था गरेको छ।

संक्रमणबाट बच्नका लागि खोपलाई अत्यावश्यक मानिएको छ। अहिलेसम्म कुल जनसंख्याको ५०.९ प्रतिशतले पहिलो मात्रा र ३८.५ प्रतिशतले कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ।

पुस २९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्