छोरीलाई तुलसीपुरमा निःशुल्क प्राविधिक शिक्षा

दाङ – तुलसीपुर उपमहानगरपालिका–६ की पूजा गुरुङले महेन्द्र मावि तुलसीपुरबाट एसईई दिइन्। सानै उमेरमा बुबा गुमाएकी उनलाई प्राविधिक शिक्षा अध्ययन गर्ने ठूलो रहर थियो। आर्थिक कारणले सोचेको कुरा पढ्न पाइँदैन कि भन्ने चिन्तामा थिइन् उनी।

तुलसीपुर उपमहानगरपालिकाले छोरीहरूलाई निःशुल्क प्राविधिक विषय अध्ययन गराउने नीति ल्याएको छ। जसले गर्दा पूजाको प्राविधिक शिक्षा पढ्ने सपना पूरा भएको छ। कुशल खाद्य विज्ञ बन्ने लक्ष्य छ उनको।

उनी तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर बहुप्राविधिक शिक्षालयमा फुड एन्ड डेरी पहिलो सेमेस्टरमा पढिरहेकी छन्।

तुलसीपुरकै वडा नम्बर ४ रक्षाचौरकी खुसी परियारको सानैदेखि कृषि विज्ञ बन्ने सपना थियो। उनको सपना पनि अहिले साकार भएको छ। ‘आफूले चाहेको विषय निःशुल्क पढ्न पाउँदा असाध्यै खुसी भएकी छु’, उनले खुसी व्यक्त गरिन्।

बालमितेरी मावि भोजपुरबाट एसईई दिएकी अरुणा चौधरीको मेकानिकल इन्जिनियरिङ पढ्ने सपना पनि यतिवेला सार्थक भएको छ।

‘बाबा आमाले पढ्न सकिँदैन कि भन्नुभएको थियो तर पूर्ण छात्रवृत्ति पाएपछि पढ्न सहज भएको छ’, चौधरीले भनिन्।

तुलसीपुर–३ की आइसा ढकालको इलेक्ट्रिकल इन्जिनियरिङ पढ्ने सपना पनि सार्थक भएको छ। ‘३ वर्ष पढेर आत्मनिर्भर बन्न सकिन्छ भन्नेमा ढुक्क छु’, उनले खुसी व्यक्त गरिन्।

तुलसीपुरलाई प्राविधिक शिक्षाको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसाथ स्थानीय सरकारले शिक्षालय स्थापना गरेको हो। शिक्षालयमा सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण गरेका पालिकाभित्रका सबै छात्रालाई निःशुल्क अध्यापन गराउने लक्ष्य रहेको शिक्षालयका प्रमुख वसन्त आचार्यले जानकारी दिए।

निःशुल्क पढ्ने सबै छात्राको शुल्क भने पालिकाले व्यहोर्ने उनले बताए। उपमहानगरपालिकाले छात्रवृत्ति दिएर अहिले सय छात्राले शिक्षालयमा विभिन्न प्राविधिक विषय अध्ययन गरिरहेको आचार्यले जानकारी दिए। ‘सामुदायिकमा पढ्ने जुन कुनै छात्राले अध्ययन गर्न चाहे पनि हामीले पूर्ण छात्रवृत्ति दिने गरेका छौँ’, उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख चक्र भण्डारीले भने।

‘छोरीहरूले कसैको मुख ताक्नु पर्दैन’

नगरप्रमुख घनश्याम पाण्डेले छोरीहरूले प्राविधिक शिक्षा अध्ययन गर्नका लागि कसैको मुख ताक्नु नपर्ने बताएका छन्। नगरले छोरीहरूलाई स्मार्ट बनाउन शिक्षामा जोड दिएको उनको भनाइ छ।

‘छोरीहरूलाई आत्मनिर्भर बनाउनका लागि खासगरी सीपमूलक शिक्षामा ध्यान दिन जरुरी छ’, उनले भने।

उनले तुलसीपुरलाई प्राविधिक शिक्षाको केन्द्रका रूपमा विकास गर्न स्थानीय सरकारकै पहलमा शिक्षालय स्थापना गरिएको जानकारी दिए।

 

पुस २९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्