गल्ती गरौं किनकि गल्ती हाम्रा शिक्षक हुन् – दीपकराज गिरी

काठमाडौँ – चर्चित हाँस्य कलाकार दीपकराज गिरीले आफू चलचित्र क्षेत्रमा फेल भएकै कारणले पास हुन आएको बताएका छन्। उनले काम गर्दा फेल भइयो भने त्यो काम झनै सिक्न लगाव बढ्ने पनि उल्लेख गरे।

गिरी अहिले ग्यालेक्सी फोरके च्यानलमार्फत कार्यक्रम ‘क्राइम पेट्रोल नेपाल’ सँग आबद्ध छन्। सधैँ हसाउने भूमिका निभाएका गिरीले यो कार्यक्रममा सञ्चालकको भूमिका निभाएका छन्। उनले यो काम आफ्नो लागि फरक भएको बताए। ‘चाउचाउको खोल राम्रो भएर हुँदैन, चाउचाउ स्वादिष्ट हुनुपर्छ’, उनले भने, ‘म यो कार्यक्रमको खोलमात्रै हुँ, स्वाद कलाकार र निर्माण टोलीको हो।’

आफूलाई यो भूमिकामा ढाल्न असहज भएको अनुभव पनि उनले साझा गरे। गिरी टेलिभिजनमा प्रशारण हुने हाँस्य टेलिश्रृंखला ‘तीतो सत्य’ मा काम गर्दागर्दै चलचित्र क्षेत्रमा आइपुगेका थिए। उनले अभिनय, निर्माण र निर्देशन गरेका धेरै चलचित्र सुपरहिट भएका छन्।

चलचित्र क्षेत्रमा निरन्तरता दिइरहेका गिरीलाई ‘क्राइम पेट्रोल’ मा आवद्ध भइसकेपछि धेरैले प्रश्न गरे, ‘यो तिम्रो विधा हैन, किन यो क्षेत्रमा हात हालेको ?’

‘मलाई आजको १० वर्ष अगाडि पनि यस्तै प्रश्न आउँथ्यो, जतिबेला मैले चलचित्र ‘सुन्दर मेरो नाम’ मा मुख्य भूमिका निभाए। त्योभन्दा अगाडि म टेलिभिजनको कलाकार थिए, त्यो चलचित्र फ्लप भयो’, उनले भने, ‘मलाई भने त्यो चलचित्रमा काम गरेर ठीक गरे भन्ने लागेको छ। किनभने म फेल भए र मलाई पास हुने भोक जाग्यो। त्यसैले आज म जे छु, त्यसले गर्दा पनि हो।’

उनले गल्ती हाम्रो शिक्षक भएकोले सिक्नकै लागि भए पनि गल्ती गर्नुपर्ने बताए। ‘म पनि ग्यालेक्सीमा गल्ती गर्न आएको छु’, उनले भने, ‘मलाई यो अवसर दिनुभएकोमा धन्यवाद ! जनि नम्बर प्राप्त गरे पनि म स्वीकार्छु।’

गिरीले आफू कम्तिमा एक सिजन यो सिरिजसँग आवद्ध हुने जानकारी दिएका छन्। उनले आफू यो सिरिजसँग आवद्ध हुन पाउँदा नव-कलाकार भएको महसुस गरिरहेको पनि बताए।

ग्यालेक्सी फोरके टेलिभिजनका निर्देशक तथा सञ्चारकर्मी रवि लामिछानेले दीपकसँगको सहकार्य ‘कमेडीबाट सुरु भएर क्राइम’ मा पुगेको बताए।

‘मैले तीतो सत्यलाई रिभाइज गरेर ‘ती..तो सत्य या असाध्यै तीतो सत्य’ बनाऔं भन्न गएको थिएँ। तर उहाँले केही नयाँ गरौँ भन्नुभएको थियो’, रवि लामिछानेले भने, ‘त्यसपछि क्राइम पेट्रोल नेपालमा आएर कुरा टुंगियो।’

पुस ३०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्