नेपाल इन्भेस्टमेन्टसँगको मर्जरबाट हिमालयन ब्याक हुने संकेत

काठमाडौँ – हिमालयन बैंक लिमिटेड नेपाल इन्भेस्टमेन्ट बैंकसँगको मर्जरबाट पछि हट्ने संकेत देखिएको छ। बैंकको आज बोलाइएको २९ औं साधारणसभाले नेपाल इन्भेस्टमेन्टसँगको मर्जरलाई अस्वीकार गर्दै आफ्नो छुट्टै अस्तित्वलाई नै निरन्तरता दिने हिमालयन बैंक स्रोतले जानकारी दिएको छ।

बैंकमा २० प्रतिशत रहेको कर्मचारी सञ्चय कोषसमेत नेपाल इन्भेस्टमेन्टसँगको मर्जरको विपक्षमा रहेको बुझिएको छ। बैंकका पूर्वअध्यक्ष मनोजबाबु श्रेष्ठसमेत मर्जरविरुद्ध रहेका छन्। त्यसैले साधारणसभाको बहुमतले मर्जरमा जाने विशेष प्रस्ताव असफल पार्ने उक्त स्रोतले बतायो।

स्रोतका अनुसार अर्थमन्त्री जनार्दन शर्माले समेत दुई बैंकलाई मर्जरमा जान नदिन चारैतिरबाट दबाब दिँदै आएका छन्। जसअनुसार हिमालयन बैंकले आजको साधारणसभाबाट इन्भेस्टमेन्टसँगको मर्जरबाट ब्याक हुने निश्चितजस्तै भएको उक्त स्रोतले बतायो। ‘आज हुने साधारणसभाले मर्जर अस्वीकार गर्ने विशेष प्रस्ताव पारित गर्ने सम्भावना छ’, उनले भने।

नेपाल इन्भेस्टमेन्ट बैंकसँग मर्जरमा जान बोलाइएको साधारणसभामा मर्जर अस्वीकार गर्ने प्रस्ताव विशेष प्रस्तावको रुपमा पेश हुने उनले जानकारी दिए।

दुई बैंकले गएको बैशाख ३० गते आपसमा गाभिने (मर्जर) सम्झौता गरेका थिए। दुई बैंकले मर्जरपछि बैंकको नाम ‘हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंक’ रहने समेत प्रारम्भिक सम्झौता गरेका थिए। उक्त सम्र्झौताअनुसार कार्तिकभित्र एकीकृत कारोबार हुनुपर्ने थियो। तर भित्री समस्याकै कारण दुई बैंकले अहिलेसम्म आआफ्नो एकल कारोबारलाई निरन्तरता दिँदै आएका छन्।

हिमालयन बैंक मर्जरबाट ब्याक हुने भएपछि दुई बैंक मर्जर भएर देशकै सबैभन्दा ठूलो बैंक बन्ने अवसरबाट बञ्चित हुने भएकाे छ। नेपाल इन्भेस्टमेन्ट बैंकले भने मर्जरलाई अनुमोदन गर्न माघ ४ गते विशेष साधारणसभा बोलाएको छ।

नेपाल इन्भेस्टमेन्ट र हिमालयनको मर्जर धरापमा परे पनि नबिल बैंक र नेपाल बंगलादेश बैंकले बिहीबारमात्रै मर्जरमा जाने सम्झौता गरेका छन्।

पुस ३०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्