रोकिएनन् चोरीका घटनाः सुरक्षा प्रबन्धमाथि चुनौती

बागलुङ – दुई साताअघि गलकोटको व्यापारिक केन्द्र हटिया बजारस्थित सिवाइसी बचत तथा ऋण सहकारीको सदस्य सेवा केन्द्रमा चोरी भयो। लुटेराले मध्यरातमा झ्याल फोडेर कार्यालयभित्र छिरी नगद ६ लाख ५४ हजार लगे।

सहकारीका सहसचिव सुवास आचार्यले चोरले ‘भल्ट’ नै तोडेर पैसा लुटेको बताए। ‘सबैभन्दा सुरक्षित मानिएको भल्टबाटै पैसा चोरी भएको छ, यो घटनाले वित्तीय क्षेत्रमै चुनौती थपेको छ,’ उनले भने।

सिसी क्यामेरामा कैद दृश्यमा तीन जनाले चार घण्टा लगाएर पैसा लुटेको देखिएको सहसचिव आचार्यले बताए। सहकारीले घटनाको छानबिन र दोषीलाई कानुनी कठघरामा ल्याउन माग गर्दै प्रहरीमा निवेदन दिएको छ।

गलकोट नगरपालिका–३ का वडाध्यक्ष वीरजंग भण्डारीका अनुसार त्यसको चार दिनअघि मात्रै हटियाकै केही घरमा चोरले लुटपाट मच्चाएका थिए। यी त चोरीका पछिल्ला प्रतिनिधि घटना मात्रै हुन्। डेढ वर्षलाई हर्ने हो भने गलकोटमा चोरीका शृंखलाबद्ध घटना भएका छन्। नगद, गरगहना, महँगा वस्तुलगायत गरी लाखौँको लुटपाट भएको छ।

अघिल्लोे वर्षको असोजमा गलकोट–२ नरेठाँटीका ज्येष्ठ दम्पतीलाई बन्धक बनाएर धनमाल लुटेको घटनायता त्यस क्षेत्रमा चोरको बिगबिगी नै चलेको छ।

व्यक्तिका घरदेखि पसल, सहकारीसम्म गरी दर्जनौँ ठाउँमा चोरी भएको छ। लगातारजसो चोरीका घटना हुँदा पनि लुटेरा पक्राउ पर्न सकेका छैनन्। प्रहरी अनुसन्धान सोधपुछमै सीमित छ। कतिपय घटनामा त प्रहरी पुग्नै सकेको छैन।

पीडित र स्थानीयवासीले भने प्रहरी अनुसन्धान फितलो र निष्प्रभावी भएको भन्दै आक्रोश व्यक्त गरिरहेका छन्।

चोरी नियन्त्रणमा प्रहरी संवेदनशील नबनेको उनीहरूको गुनासो छ। ‘घटनाका प्रकृति हेर्दा चोरीमा पेसेवर गिरोह नै सक्रिय भएको देखिन्छ, प्रहरीले अनुसन्धान गरिरहेको भनिए पनि अहिलेसम्म खास उपलब्धि देखिएको छैन,’ वडाध्यक्ष भण्डारीले भने।

प्रहरीसँग पनि अनुसन्धानका लागि स्रोत–साधन र जनशक्तिको कमी रहेको उनको बुझाइ छ। शृंखलाबद्ध रुपमा चोरीका घटना हुँदा गलकोट क्षेत्रको सुरक्षा प्रबन्धमै गम्भीर प्रश्न उब्जिएका छन्। मानिसमा त्रास छ। असुरक्षा बढेको छ।

हटिया प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक विष्णुप्रसाद शर्माले पछिल्लोपटक सहकारीमा भएको चोरीको घटनामा स्थलगत अनुसन्धान सकिएको बताए। ‘अब प्राविधिक अनुसन्धानको पाटो बाँकी छ, आशा गरौँ अपराधी पत्ता लाग्नेछन्,’ उनले भने।

सिसी क्यामेरामा कैद दृश्य अस्पष्ट भएकाले पनि अनुसन्धान जटिल बनेको प्रहरीले जनाएको छ।

प्रहरी नायब निरीक्षक शर्माका अनुसार मध्यरात १२ बजेदेखि ३ बजेभित्र सहकारीमा चोरी भएको थियो। ‘त्यस समयमा कुनै मोबाइल प्रयोग भएको थियो कि ? भनेर पनि हामी हेर्दै छौँ, अन्य प्रमाण पनि खोज्दै छौँ,’ उनले भने।

चोरीलगायत अपराध न्यूनीकरणमा समुदायको पनि सहयोग चाहिने उनले बताए। त्यो घटनाको अनुसन्धानमा स्थानीयले नसघाएको प्रहरीको गुनासो छ।
वडाध्यक्ष भण्डारीले चोरीका घटना हुन नदिन व्यक्ति, परिवार र समाज स्वयं पनि जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गरे।
‘टोल, बस्तीमा स्वयंसेवी समूह बनाउने, निगरानी गर्ने, सिसी क्यामेरा राख्ने, घर, पसल, व्यवसायको सुरक्षा मजबुद पार्ने गर्नुपर्छ,’ उनले भने।

पछिल्लो समय प्रहरीले हटियालगायत बजार क्षेत्रमा रात्रिकालीन गस्ती पनि सुरु गरेको छ। सादा पोसाकका प्रहरीलाई पनि शंकास्पद ठाउँमा पठाउने गरिएको प्रनानि शर्माले बताए। प्रहरीले चोरी हुन नदिन सुरक्षाका उपाय अपनाउन, धनमाल र गरगहना घरभित्रै छाडेर बाहिर नजान, शंकास्पद व्यक्ति देखिएमा प्रहरीलाई खबर गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

जनप्रतिनिधिका तर्फबाट गलकोटमा भइरहेका चोरीका घटनालाई लिएर जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयको ध्यानाकर्षण गरिए पनि खास सुनुवाइ हुन नसकेको नगरप्रमुख भरत शर्मा गैरेले बताए।

यतिका घटना हुँदा पनि अपराधी पत्ता लाग्न नसक्नु दुर्भाग्यपूर्ण भएको उनको भनाइ छ। ‘कि प्रहरीको अनुसन्धान प्रक्रियामै त्रुटि छ, कि त प्रहरीले घटनाप्रति चासो दिएकै छैन,’ नगरप्रमुख शर्माले भने।

पुस ३०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्