किन असफल भयो इन्भेस्टमेन्ट र हिमालयन बैँकबीचको मर्जर प्रक्रिया?

काठमाडौँ– हिमालयन बैंक लिमिलेट र नेपाल इन्भेस्टमेन्ट बैँकबीचको मर्जर प्रक्रिया असफल भएसँगै एउटा ठूलो र शक्तिशाली बैँकको उदय अहिलेका लागि रोकिएको छ।

हिमालयन बैंकको बार्षिक साधारणसभाले शुक्रबार इन्भेस्टमेन्टसँगको मर्जर प्रस्ताव अस्वीकृत गरेको हो। साधारण सभामा उपस्थित सदस्यहरुमध्ये ६४ प्रतिशत मर्जरका पक्षमा रहे पनि ३६ प्रतिशतले यसको विपक्षमा राय दिएका थिए। मर्जरको विशेष प्रस्ताव स्वीकृत हुन ७५ प्रतिशत सेयर सदस्यहरुको समर्थन आवश्यक हुन्छ।

हिमालयन र इन्भेस्टमेन्ट बैँकबीच ३० वैशाख २०७८ मा मर्जरको प्रारम्भिक सहमति भएपछि दुवै बैंकले राष्ट्र बैंकमा निवेदन दिएका थिए। राष्ट्र बैंकले २०७८ जेठमा मर्जरको सैद्धान्तिक स्वीकृति दिएको थियो।

सतहमा जे देखिए पनि मर्जर प्रक्रिया असफल हुनुमा राजनीतिक चलखेलको भूमिका प्रमुख रहेको स्रोत बताउँछ। अर्थमन्त्री जनार्दन शर्मा आफैँ हिमालयन र इन्भेस्टमेन्टबीचको मर्जरको विपक्षमा थिए।

बैंकमा १४.४ प्रतिशत हिस्सा रहेको कर्मचारी सञ्चय कोषका प्रमुख तुलसी गौतम मर्जरको पक्षमा देखिएपछि अर्थमन्त्री शर्माले उनलाई हटाएर जितेन्द्र धिताललाई कर्मचारी सञ्चय कोषका प्रमुख बनाएका थिए। उनी मर्जरको विपक्षमा थिए।

बैंकमा प्रमुख सेयर होल्डर रहेका प्रभावशाली मानिने पूर्वअध्यक्ष मनोजबाबु श्रेष्ठका भाइ प्रचण्डबहादुर श्रेष्ठ अहिले हिमालयन बैँकका अध्यक्ष छन्। उनीसहित मनोजबाबु पनि मर्जरको विपक्षमा उभिएका थि‌ए। मनोजबाबु श्रेष्ठ माओवादी निकट मानिन्छन्।

*सच्याइएको

पुस ३०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्