गठबन्धन दलको जिल्लास्तरीय साझा संयन्त्रमा माओवादी केन्द्रीय सदस्य भण्डारी संयोजक

सिमकोट – केन्द्रमा सत्ता गठबन्धन दलअन्तर्गतको जिल्लामा जिल्लास्तरीय साझा संयन्त्र गठन गरिएको छ।सत्तारुढ दलहरूको जिल्लामा शुक्रबार बसेको बैठकले सो संयन्त्र गठन गरेको हो।

जिल्लामा सत्ता गठबन्धन दलको बैठकले माओवादी केन्द्रका केन्द्रीय सदस्य विजय भण्डारीको संयोजकत्वमा जिल्लास्तरीय साझा संयन्त्र गठन गरिएको कांग्रेस हुम्लाका उपसभापति वसन्त रोकायाले जानकारी दिए।

भण्डारीको संयोजकत्वमा नौ सदस्यीय संयन्त्र गठन गरिएको छ। उक्त जिल्लास्तरीय संयन्त्रमा कांग्रेसबाट पार्टी सभापति मोहनबिक्रम सिंह र उपसभापति रोकाया, माओवादीबाट जिल्ला अध्यक्ष लालकेश जैसी, नेकपा एकीकृत समाजवादीबाट केन्द्रीय सदस्य लोकबहादुर हमाल र कर्णबहादुर रोकाया, जनता समाजवादी पार्टीबाट जिल्ला अध्यक्ष धर्मराज बोहरा र सचिव भैरवबहादुर शाही तथा राष्ट्रिय जनमोर्चाबाट जिल्ला अध्यक्ष बल भण्डारी चयन भएका छन्।

यसमा चार ठूला पार्टीबाट दुई–दुई जना र जनमोर्चाबाट एक जना संयन्त्रमा सदस्य छन्।

संयन्त्र गठनसँगै माघ १२ गते सम्पन्न हुन गइरहेको राष्ट्रिय सभा निर्वाचनका लागि केन्द्रीय गठबन्धनअनुसार लाग्ने र आफ्ना मतदातालाई त्यहीअनुसार सहजीकरण गर्ने निर्णय बैठकले गरेको छ। यसका लागि पुस मसान्तभित्र जिल्लास्तरीय साझा संयन्त्र गठन गर्न कर्णाली प्रदेशस्तरीय संयन्त्रले पत्राचार गरेको थियो।

अन्य कुरा कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा माघ १२ गतेको राष्ट्रिय सभा निर्वाचनपछि छलफल चलाइने भएको छ।

पुस ३०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्