मेलम्ची खानेपानी काठमाडौँ उपत्यकामा लैजान बनाएको कार्ययोजना कार्यान्वयन गर्न सांसदहरुको माग

काठमाडौँ – प्रतिनिधिसभाअन्तर्गत विकास तथा प्रविधि समितिले मेलम्ची खानेपानी आयोजनाले अस्थायी रूपमा मेलम्ची खानेपानी काठमाडौँ उपत्यकामा पथान्तरण गर्नेगरी बनाएको कार्ययोजना कार्यान्वयनमा लैजान सरकारलाई निर्देशन दिएको छ।

सिंहदरबारमा शुक्रबार बसेको समितिको बैठकले मेलम्ची खानेपानी आयोजनाले अस्थायी रुपमा मेलम्चीको खानेपानी काठमाडौँ उपत्यकामा पठाउन बनाएको कार्ययोजना यथाशीघ्र स्वीकृत गरी कार्यान्वयनमा लैजान सरकारलाई निर्देशन दिएको हो।

बैठकपछि समितिकी सभापति कल्याणीकुमारी खड्काले खानेपानी मन्त्रालयका जिम्मेवार निकायबाट काठमाडौँ उपत्यकालगायत स्थानमा खानेपानी सेवा विस्तारका लागि भइरहेका कार्य अन्य निकायबाट आवश्यक समन्वय नभई क्षति पुर्‍याउने कार्य भइरहेकाले तेस्रो पक्षबाट खानेपानी आयोजनाको काममा पुर्‍याइएको क्षतिको मूल्यांकन गरी क्षतिपूर्ति उपलब्ध गराउने नीतिगत व्यवस्था मिलाउन पनि सरकारलाई निर्देशन दिइन्।

उनले यस्तो समस्या दोहोरिन नदिन विधेयक संसद्मा पेस गर्न पनि सरकारलाई निर्देशन दिइन्। समितिले नेपालमा खानेपानीको मुहान सुक्दै गइरहेको अध्ययनले देखाएकाले मुहान संरक्षणको कार्ययोजना बनाई कार्यान्वयनमा लैजान पनि सरकारलाई निर्देशन दिएको छ।

सभापति खड्काले भनिन्, ‘नवनियुक्त नेपाल सरकारका खानेपानीमन्त्री उमाकान्त चौधरीलाई समितिमा बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरियो। हालै मेलम्ची खानेपानी आयोजनाले अस्थायी रूपमा मेलम्चीको खानेपानी काठमाडौँ उपत्यकामा पठान्तरण गर्नेगरी बनाएको कार्ययोजना यथाशीघ्र स्वीकृत गरी कार्यान्वयनमा लैजान समिति नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिन्छ। नेपाल सरकार खानेपानी मन्त्रालयका जिम्मेवार निकायबाट काठमाडौँ उपत्यकालगायत विभिन्न स्थानमा खानेपानी सेवा विस्तारका लागि भइरहेका कार्य अन्य निकायबाट आवश्यक समन्वय नभई क्षति पुर्‍याउने कार्य भइरहेकाले यसरी तेस्रो पक्षबाट खानेपानी आयोजनाको काममा पुर्‍याइएको कामको मूल्यांकन गरी क्षतिपूर्ति उपलब्ध गराउने नीतिगत व्यवस्था मिलाउन र यस्तो समस्या दोहोरिन नदिन युटिलिटी करिडोर विधेयकको मस्यौदा ८१ संसद्मा पेस गर्न समिति नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सहरी विकास मन्त्रालय र खानेपानी मन्त्रालयलाई निर्देशन गर्छ।’

नेपालमा गरिएका विभिन्न अध्ययनले केही दशकयता पानीका मुहान सुक्दै गइरहेको देखिएको उनले बताइन्। पानीका मुहान सुक्दै जाँदा उपभोक्तामा नकारात्मक असर पुग्ने मात्र नभई जैविक विविधता र पर्यावरणसमेत प्रभावित हुने उनले बताइन्।

उनले भनिन्, ‘हालैको बाढीले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना भौगोलिक दृष्टिले जोखिमपूर्ण रहेको अवस्थामा काठमाडौँ उपत्यकामा पानीको माग धान्न नसक्ने देखिएकाले त्यसको विकल्प पहिचान गरी यथाशीघ्र कार्यान्वयनमा ल्याउन समिति नेपाल सरकार खानेपानी मन्त्रालयलाई निर्देशन दिन्छ।’

सभापति खड्काले बाढीका कारण क्षतिग्रस्त भएको मेलम्ची खानेपानी आयोजना भौगोलिक दृष्टिले जोखिमपूर्ण रहेकाले काठमाडौँ उपत्यकामा पानीको माग धान्न नसक्ने देखिएको भन्दै त्यसको विकल्प पहिचान गरी यथाशीघ्र कार्यान्वयनमा ल्याउन खानेपानी मन्त्रालयलाई निर्देशन दिइन्।

पुस ३०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्