विद्यार्थीहरुले सिंहदरबारभित्रै दले मेडिकल कलेज सञ्चालक सुनिल शर्मालाई कालो मोसो

काठमाडौँ- असन्तुष्ट विद्यार्थीहरुले शुक्रबार सिंहदरबारभित्रै काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष सुनील शर्मालाई कालो मोसो दलेका छन्।

शिक्षा मन्त्रालयमा विद्यार्थी, अभिभावक र कलेज सञ्चालकहरुबीच भएको बैठक सकेर बाहिर निस्कने क्रममा काठमाडौँ मेडिकल कलेजकै विद्यार्थीहरुले शर्मालाई कालोमोसो दलेका हुन्।

कालोमोसो दल्नेमा नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा र माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी निकट विद्यार्थीहरु रहेको स्रोतले जानकारी दियो।

विद्यार्थीले ‘नमस्कार सर’ भनेर शर्मालाई सम्बोधन गरेपछि नमस्कार समेत फर्काउन नपाउँदै उनीमाथि कालो मोसो दलिएको थियो।

कालो मोसो दल्ने पाँच जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

पुस ३०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्