एकमहिनामा साढे ८ लाख मतदाता नामावली संकलन

निर्वाचन आयोग नेपाल

काठमाडौं:–निर्वाचन आयोगले देशभर ८ लाख ४८ हजार मतदाता नामावली संकलन गरेको छ। आयोगले सञ्चालन गरेको एक महिने अभियानका क्रममा ८ लाख ४८ हजार मतदाता नामावली थप भएको आयोगका प्रवक्ता शालिकग्राम शर्मा पौडेलले जानकारी दिए।

शुक्रबार भएको सर्वदलीय बैठकमा निर्वाचन आयोगले दलहरूलाई बढेका मतदाताबारे जानकारी गराएको छ। हाल १ करोड ६२ लाख ४३ हजार एक सय मतदाता छन्।

आयोगले सर्वदलीय बैठकमा निर्वाचनको तयारीबारे जानकारी दिएको छ।आयोगले स्थानीय तहको निर्वाचनको मिति प्रस्ताव गरेको छ। आयोगले २०७९ वैशाख १४ बुधबारका दिन एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने गरी मिति तोक्न प्रस्ताव गरेको हो। कुनै कारणबाट एकै चरणमा निर्वाचन गर्न संभव नभएमा पहिलो चरण मिति २०७९ वैशाख १४ गते बुधबार र दोश्रो चरण २०७९ वैशाख २२ गते विहीबार गरी दुई चरणमा निर्वाचन गर्ने विकल्प समेत दिएर प्रस्ताव आयोगले गरेको हो।

आयोगका पदाधिकारीद्वारा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँड र  महान्यायाधिवक्ता खम्मबहादुर खातीलाई भेटी स्थानीय तहको आगामी निर्वाचन सम्वन्धमा भएका संवैधानिक तथा कानूनी ब्यवस्था वारेमा जानकारी गराइएको प्रवक्ता पौडेलले बताए।

‘प्रधानमन्त्रीले दलहरुसँग छलफल गरेर त्यस आधारमा फेरि निर्वाचन आयोगसँग छलफल पछि मिति घोषणा गरिने बताउनु भएको छ। आयोगको अहिलेको प्रस्ताव केही तल माथि हुन पनि सक्छ’ महान्यायाधिवक्ता भने आयोगले प्रस्ताव गरेकै मिति घोषणा गर्न सकिने विषयमा सकारात्मक देखिनु भयो’ उनले देशसञ्चारसँग भने।

स्थानीय तहको निर्वाचनबाट निर्वाचित पदाधिकारीकोे ५ वर्षे पदावधि २०७९ साल जेठ ५ गते समाप्त हुँदैछ। स्थानीय तहको निर्वाचन सम्पन्न गर्न कम्तिमा निर्वाचन तयारी सम्बन्धी ५३ क्रियाकलापहरु सम्पन्न गर्नुपर्ने हुँदा यसका लागि कानूनतः १२० दिन आवश्यक पर्ने जनाउँदै माघको पहिलो हप्ता भित्रै निर्वाचनको मिति नतोकिएमा प्राविधिक, व्यवस्थापकीय एवम् व्यवहारिक दृष्टिले निर्वाचन गर्न कठिन हुने भन्दै आयोगले दल तथा सरोकारवालाको ध्यानाकर्षण गराएको हो।

पुस ३०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्