किन मनाइन्छ माघे संक्रान्ति?

काठमाडौँ-  काठमाडौंको कालिमाटी फलफूल तथा तरकारी बजार यतिबेला तरुलमय बनेको छ।

माघे संक्रान्ति पर्वलाई लक्षित गरी कन्दमुलहरु भित्रिएसँगै बजार तरुलमय बनेको हो। तरुलहरुको पर्व समेत भनेर चिनिने माघे संक्रान्ति पर्वमा तरुलको माग उच्च हुने गरेको छ। माघे संक्रान्ति पर्वमा विशेषगरी कन्दमुल, चाकु, तिलका लड्डु लगायतका परिकारहरु खाने परम्परा छ। शरीरलाई न्यानो बनाउने यस प्रकारका परिकारहरुले माघे संक्रान्ति पर्वमा विशेष महत्व राख्छ।

प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे मकर (संक्रान्ति) पर्वका लागि तरुल र चाकुको व्यापार बढेको हो ।

गत बर्ष कन्दमुल र चाकुको व्यपार एकदमै न्युन थियो । यसबर्ष कोरोना भाइरसको जोखिम कायमै रहेपनि बजारहरु खुल्ला रहेकाले तरुल र चाकुको व्यापार गतबर्षभन्दा केही हदसम्म राम्रो रहेको व्यापारीहरुले बताएका छन्।

माघेसंक्रान्तिलाई लक्षित गरेर घरतरुल, वनतरुल, सखरखण्ड, पिडालु, सिमल तरुल, इस्कुसको जरा लगायतका कन्दमुल बजारमा निस्किएका छन् । अन्य समयमा खासै कन्दमुल नखाने मानिसहरु पनि माघे संक्रान्ति पर्वका बेला कन्दमुल किन्न बजार पुग्ने गरेका छन्।

माघे संक्रान्ति पर्व कहिलेबाट मनाउन सुरु गरियो भन्ने कुनै आधार नरहेको संस्कृतविद तथा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङ बताउँछन्। मानिसहरुले खाने कुरा खान जानेदेखि नै यो परम्परा चल्दै आएको उनी बताउँछन्।

माघे संक्रान्ति पर्वलाई विभिन्न जात जातिका मानिसहरुले आफ्नो पर्व भनेर दाबी गर्दै आएका छन् । यद्यपि यो पर्व कुनै लक्षित वर्गको नभई सबैको रहेको संस्कृतविद गुरुङको भनाइ छ ।

पुस ३०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्