मर्जर असफल भएपछि हिमालयन र इन्भेस्टमेन्टले ३ वर्षसम्म लाभांश बाँड्न पाउँदैनन्

काठमाडौँ- हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकबीच मर्जर प्रक्रिया असफल भएपछि यी दुवै बैँकले तीन वर्षसम्म लाभांश वितरण गर्न नपाउने भएका छन्।

मर्जर प्रक्रिया अन्तिम समयमा असफल भएपछि नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० अनुसार दुवै बैंकमाथि कारबाही प्रक्रिया अघि बढाउनुका साथै ३ वर्षसम्म लाभांश पनि दिन नपाउने राष्ट्र बैँकका एक अधिकारीले जानकारी दिए।

राष्ट्र बैँकबाट यी दुई बैँकले मर्जरका लागि सहमति पाइसकेको भए पनि हिमालयन बैँकको साधारण सभाले शुक्रबार मर्जर प्रस्ताव अस्वीकृत गरेको थियो। ६४ प्रतिशत सदस्यहरु मर्जरको पक्षमा भए पनि ३६ प्रतिशतले मर्जरको विपक्षमा मतदान गर्दा मर्जर प्रस्ताव अस्वीकृत भएको थियो। मर्जरका लागि ७५ प्रतिशतको सहमति आवश्यक हुन्छ।

कर्मचारी सञ्चय कोषका प्रमुख जितेन्द्र धिताल, हिमालयन बैँकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र पूर्वअध्यक्ष मनोजबहादुर श्रेष्ठलगायत मर्जरको विपक्षमा उभिएका थिए। हिमालयन बैँकमा कर्मचारी सञ्चय कोषको १४.४ प्रतिशत सेयर छ। अर्थमन्त्री जनार्दन शर्माको योजनाअनुसार मर्जर प्रस्ताव अस्वीकृत भएको हो।

पुस ३०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्