संसद् खोल्न सभामुखले गल्ती सच्याउनुपर्छः प्रदीप ज्ञवाली

प्रदीप ज्ञवाली। फाइल तस्बिर

काठमाडौँ– नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सभामुख अग्निप्रसाद सापकोटा आफ्नो दल विभाजनको कारण बनेको आरोप लगाउँदै गल्ती नसच्याएसम्म संसद् चल्न नदिने बताएका छन्।

शुक्रबार काठमाडौँमा आयोजित एक साक्षात्कारमा उनले सदनलाई चलायमान बनाउने आफूहरुको चाहना भएपनि सभामुख स्वयं दल विभाजनकारी गतिविधिमा लागेकोले कडा रुपमा प्रस्तुत हुन बाध्य भएको बताए।

संसदको अवरोध चाडो अन्त्य होस् भन्ने एमालेले पनि चाहेको भन्दै उनले संसद खुल्नलाई सभामुखले आफ्नो गल्ती सच्याउनु पर्ने धारणा राखे।

ज्ञवालीले भने, ‘सभामुख स्वयं एउटा दल विभाजनकारी गतिविधिमा लाग्नुभयो, नेकपा एमाले विभाजनको मुख्य कारण बन्नुभयो, सभामुखले गल्ती सच्याउनुपर्यो कि बाटो छाड्नुपर्यो।’

सभामुख सापकोटाको भूमिकाबारे प्रश्न गर्दै भने, ‘उहाँले दोहोरो भुमिका खेल्न लाग्नु भो। जसपाले सरीता गिरिलाई कारवाही गरेको सूचना उहाँले २४ घन्टामा टाँस्नुभो। माओवादी केन्द्रले टोपबहादुर रायमाझी लगायतका नेता, सांसदहरुलाई गरेको कारवाही ४८ घण्टामा टाँस्नुभो तर नेकपा एमालेले गरेका कारवाही गरेको लिस्टलाई उहाँले सिरानीमुनि राख्नु भो।’

ज्ञवालीले एमाले विभाजनको मुख्य कारण नै सभामुख अग्नि सापकोटा भएको आरोप लगाउँदै गल्ती सच्याउने या राजीनामा दिनेबाहेकमा सम्झौता नहुने अडान राखे।

प्रधानमन्त्री देउवा तथा नेपाली कांग्रेसलाई प्रतिपक्षका आवाजलाई सुन्दै नुसुनिकन मुलुकको शासन व्यवस्था नचल्ने पनि ज्ञवालीले बताए।

ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले ६ महिनामा सोचेजति काम गर्न नसकेको भन्दै असफल भएको टिप्पणी गरे। देउवा नेतृत्वको सरकारको ६ महिनामा पुँजीगत खर्चको ८ प्रतिशत पनि खर्च हुन नसकेको भन्दै उनले मुलुकको सबै क्षेत्रहरु अस्तब्यस्त जस्तै भएको बताए।

देशकै अर्थतन्त्रका सारा सुचकहरु अस्तब्यस्त भएको भन्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई अब निन्द्राबाट ब्युँझन पनि आग्रह गरे। ‘प्रधानमन्त्रीज्यू, अब निन्द्राबाट ब्युँझनुहोस्।’ देशको बाहिरी सम्बन्ध बिग्रिरहेको,मुलुक गलत बाटोमा गइरहेको भन्दै प्रधानमन्त्री देउवालाई मुलुकको राष्ट्रियताको सवालमा मौनता तोड्न आग्रह गरे।

पुस ३०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्