कोभिडको संकटबाट पार पाउन दलबीच साझा सहकार्य जरुरी छ : मुख्य मन्त्री राई

विराटनगर- कोभिड १९ संक्रमण, रोकथाम, नियन्त्रणमा राजनीतिक दलले साथले मात्रै प्रदेश सरकार सफल हुने प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले बताएका छन्।

शुक्रबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आयोजित राजनीतिक दलसँग प्रदेशस्तरीय सर्वपक्षीय छलफलका क्रममा मुख्यमन्त्री राईले कोभिडविरुद्ध तय गरिएका योजना सफल बनाउन दलको साथ आवश्यक रहने बताएका हुन्।

चौतर्फी रुपमा कोभिड १९ विरुद्ध जनचेतना जगाउने र आवश्यक तयारी गर्ने सरकारको प्राथमिकतामा रहेको बताउँदै मुख्यमन्त्री राईले यसको नियन्त्रण, रोकथाम र उपचारमा राजनीतिक दलको सहयोगको खाँचो रहेको प्रस्टाए।

दलका भातृसंगगठनको परिचालन तहसम्म गर्न सकिनेमा जोड दिएका मुख्यमन्त्री राईले भने, ‘सरकारको प्रयासमा दलहरूले साथ दिए कोभीडविरुद्ध तय गरिएका योजना सफल हुन सक्छन्।’ प्रदेशमा खोपको पर्याप्त भएपनि लगाउन चाहनेको संख्यामा कमी देखिएको उनले बताए।

कोभिड १९ संक्रमणको तेस्रो लहरका कारण लकडाउनको अवस्था आउन नदिन सबैमा सचेतना आवश्यक रहेकोमा मुख्यमन्त्री राईले जोड दिए।

छलफलमा आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले कोभीड विरुद्ध संघ, प्रदेश र स्थानीय तीन वटै सरकार मिलेर लड्नुपर्ने धारणा व्यक्त गरे। लकडाउन कोभीड रोकथामको विकल्न नभएको बताउँदै उनले लकडाउनले विपन्न, तथा निमुखालाई अत्याधिक समस्या पर्ने बताए। मन्त्री कार्कीले कोभीड नियन्त्रणका लागि अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई बुस्टर डोजका रुपमा दिइने खोप दिन सरकार प्रतिवद्ध रहेको प्रस्टाए।

सामाजिक विकास मन्त्री जयराम यादवले रोगको संक्रमण फैलिएको अवस्थामा राजनीतिक दलहरूलाई भीडभाड हुने खालको कार्यक्रम नगर्न आग्रह गरे। नेपाली कांग्रेस प्रदेश १ अध्यक्ष उद्धव थापा, संसदीय दलका सचेतक सुयर्माराज राई, नेकपा माओवादी केन्द्र प्रदेश १ अध्यक्ष हर्कबहादुर नेम्वाङ, नेकपा एकीकृत समाजवादीका प्रदेश १ सचिव महेश रेग्मी, जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्ष प्रवीण चाम्लिङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका महासचिव अशोक चाम्लिङ, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश १ सचिव वासुदेव भट्टराईलगायतले कोभीड १९ नियन्त्रणका सहयोग गर्ने बताएका थिए।

कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कालीप्रसाद पराजुली र सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक सागर प्रसाईंले रोग नियन्त्रण विरुद्ध गरेका प्रयासबारे जानकारी गराएका थिए।

पुस ३०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्