कांग्रेसले भन्यो- लिपुलेकमा सडक निर्माण आपत्तिजक, कूटनीतिक समाधान खोजौँ

काठमाडौँ- सत्ताको प्रमुख घटक नेपाली कांग्रेसले लिपुलेकमा भारतले सडक निर्माण गर्नु आपत्तिजनक रहेको उल्लेख गर्दै सीमासम्बन्धी प्रश्नको समाधान ऐतिहासिक तथ्यका आधारमा उच्चस्तरीय कूटनीतिक माध्यमबाट खोज्नुपर्ने बताएको छ।

कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले शुक्रबार एक वक्तव्य जारी गर्दै लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाइरहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिप्रति पार्टीको ध्यानाकर्षण भएको उल्लेख गरेका छन्।

महामन्त्रीद्वयद्वारा जारी वक्तव्यमा लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भू–भाग हो भन्नेमा कांग्रेस प्रष्ट रहेको उल्लेख गर्दै ती भूगोलमा नेपालको भोगाधिकार कायम हुनुपर्ने र लापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्ने उल्लेख छ।

त्यस्तै महामन्त्रीद्वयको वक्तव्यमा संविधान संशोधनमार्फत संसदले अनुमोदन गरेको नयाँ नक्साको कार्यान्वयन हुनुपर्छ भन्ने राजनीतिक दलहरू एवं नेपाल सरकारको साझा अभिमत भएको उल्लेख छ।

लिपुलेकमा भइरहेको भनिएको सडक निर्माण गम्भीर र आपत्तिजनक भएको उल्लेख गर्दै यो अविलम्ब रोकिनुपर्ने महामन्त्रीद्वयले उल्लेख गरेका छन्।

सीमासम्बन्धी प्रश्नको हल ऐतिहासिक तथ्यका आधारमा उच्चस्तरीय कूटनीतिक माध्यमबाट खोजिनुपर्नेमा कांग्रेस प्रष्ट रहेको पनि महामन्त्रीद्वयको वक्तव्यमा उल्लेख छ।

पुस ३०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्