राजनीतिक दलका नेता नै पालना गर्दैनन् स्थानीय प्रशासनको निर्देशन तथा स्वास्थ्य मापदण्ड

झापा – संघीय सरकारलगायत स्थानीय प्रशासन तथा स्थानीय तहले २५ जना भन्दा बढी भेला नहुने निर्देशन जारी गरेका छन्।

कोरोना भाइरस संक्रमणको तेस्रो लहर चलिरहेको चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले बताइरहँदा झापाको स्थानीय प्रशासनले केही दिन अघि प्रतिबन्धात्मक व्यवस्थाका प्रावधानहरूको सूचना जारी गरेको थियो।

तर त्यो सूचना जारी भएपछि ज्यादाभन्दा ज्यादा मानिसहरू उपस्थित भएर विभिन्न कार्यक्रमहरू गर्ने काम जारी राखेका छन्।

कोरोना भाइरस संक्रमणलाई न्यून गर्न स्वास्थ्य मापदण्डको ख्याल नै नगरी झापा गौरादहको एउटा सहकारी संस्थाले सयौँ मानिसको उपस्थितिमा वार्षिक साधारणसभा गरेको छ।

गौरादह– ४ मा रहेको दुई हजारभन्दा बढी सेयर सदस्य भएको महारानीझोडा साना किसान कृषि सहकारी संस्थाले स्वास्थ्य मापदण्ड मिचेर १९औँ वार्षिक साधारणसभा गर्‍यो

साधारण सभामा उपस्थित अधिकांश मानिसले मास्कसमेत लगाएका थिएनन्।

बिहीबार बिर्तामोडको सिटी सेन्टरको आँगनमा भाक्का दिवस मनाइयो। उक्त कार्यक्रममा पनि सयौंको संख्यामा मानिसहरूको उपस्थिति थियो। कार्यक्रममा उपस्थित अधिकांशले स्वास्थ्य मापदण्ड अपनाएका थिएनन्।

माघे संक्रान्तिमा लाग्ने माइ मेलासमेत स्थगित भएको अवस्थामा उक्त कार्यक्रम रद्द नभई सञ्चालन गरिएको थियो। त्यस्ता कार्यक्रम गर्नु पर्दा स्थानीय प्रशासनको अनुमति अनिवार्य गरिएको छ।

बिहीबार नै झापाको शिवसताक्षी नगरपालिकामा नेपाली कांग्रेस झापाले पार्टी प्रवेशको कार्यक्रम राखेको थियो। नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेबे उक्त कार्यक्रममा सहभागी थिए। सयौं कार्यकर्ता माझ उपस्थित उनले मास्क लगाएका थिएनन्। खचाखच भीडमा उक्त कार्यक्रम सम्पन्न भएको थियो। नेकपा एमालेको झापा अधिवेशनमा पनि स्वास्थ्य मापदण्ड पालना भएको छैन।

जिल्ला प्रशासन कार्यालय झापाका अनुसार माथि उल्लेखित कुनै कार्यक्रमहरू गर्न अनुमति दिएको थिएनन्। प्रमुख जिल्ला अधिकारी छविराज रिजालका अनुसार बिर्तामोडमा आयोजना गरिएको भक्का दिवसलाई अनुमति दिइएको थिएन।

प्रजिअ रिजालले देशसञ्चारसँग भने, ‘हामीले कुनै पनि कार्यक्रम गर्न दिएका छैनौं। तर मानिसहरूले उल्लंघन गरिरहेका छन्।’

राजनीतिक दलका कार्यक्रमहरूमा पनि स्वास्थ्य मापदण्ड पालना नगरिएको उनले बताए। उनले भने, ‘समाज परिवर्तन गर्छु भन्ने राजनीतिक दलका नेता तथा कार्यकर्ताले बुझिदिनु पर्छ अहिलेको परिस्थिति। अहिलेको संक्रमणलाई त्यति सहज रुपमा लिइदिनु भएन। संक्रमण दिनहुँ बढिरहेको छ।’

बिहीबार झापामा ९४ जनाको पिसिआर परीक्षण गर्दा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। शुक्रबार कोरोना भाइरसबाट संक्रमण पुष्टि हुनेको संख्या ५१ रहेको छ भने शुक्रबारसम्ममा सक्रिय संक्रमितको संख्या १९२ पुगेको छ। तर, हेल्चेक्र्याइँ गर्नेको संख्या पनि त्यतिकै बढ्दैछ।

पुस ३०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्