बाघको आक्रमणबाट मृत्यु भएकाका परिवारलाई ५० हजार रुपैयाँ राहत

नेपालगञ्ज – बाघको आक्रमणबाट मृत्यु भएका दुई जनाका परिवारलाई ५०/५० हजार रुपैयाँ राहत दिइएको छ ।

प्रदेश सरकारले सञ्चालन गरेको ‘पीडितसँग प्रदेश सरकार’ भन्ने कार्यक्रमबाट बाँकेका दुई जना मृतकका परिवारलाई राहत दिइएको हो ।

डिभिजन वन कार्यालय, बाँकेका प्रमुख दधीलाल कँडेल, एसपी श्यामकृष्ण अधिकारी, सहायक वन अधिकृत गणेश खड्काले घरमै पुगेर मृतकका परिवारलाई राहत दिएका हुन् ।

पुस २२ गते राप्तीसोनारी गाउँपालिका वडा नं. ४ की लिला विष्ट र २४ गते राप्तीसोनारी गाउँपालिका वडा नं. ६ की चाँदनी थारुको बाघको आक्रमणबाट मृत्यु भएको थियो ।

मान्छेलाई आक्रमण गरेको हिंस्रक बाघलाई नियन्त्रण लिन चार दिनदेखि प्रयास गरेपनि सफल हुन सकेको छैन ।

निकुञ्ज, राष्ट्रिय प्रकृषि कोष, वन कार्यालयको प्राविधिक टोलीले सदाबहार सामुदायिक वनमा दुई पाडा राखेर बाघलाई नियन्त्रणको प्रयास गरेका छन् ।

चार दिनदेखि पाडा बाँधेको ठाउँमा बाघ आएको छैन ।

दुई वटा हात्तीसहित प्राविधिक टोली बाघ नियन्त्रणका लागि खटिएको छ ।

चितवनबाट आएका डा. अमिर सडौला, प्राविधिक तीर्थ लामा बाघ नियन्त्रणका लागि चार दिनदेखि बाँकेको जंगलमा खटिएका छन् ।

पुस ३०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्