नोबेल शिक्षण अस्पतालको समस्या समाधान गर्न इन्सेकको माग

मोरङ – विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र आन्दोलनरत विद्यार्थीको समस्या समाधानका लागि इन्सेकले माग गरेको छ।

शुक्रबार विराटनगरस्थित इन्सेकको प्रदेश १ कार्यालयले विज्ञप्ति जारी गर्दै अस्पताल र चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीबीच देखिएको विवाद समाधानका लागि सरकारसँग माग गरेको हो। नेपाल चिकित्सा शिक्षा ऐन २०७५ ले निर्धारण गरेभन्दा बढी शुल्क लिएको आरोपमा अस्पतालमा अध्ययनरत विद्यार्थीले आन्दोलन गर्दै आएका छन्।

आन्दोलनका कारण सर्वसाधारणसमेत प्रताडित हुनुपरेकोमा इन्सेकले ध्यानाकर्षण भएको जनाएको छ।

इन्सेकले निर्धारितभन्दा बढी शुल्क प्रशासनले असुल्न खोजेको र सो शुल्क नबुझाउने एमबीबीएस प्रथम वर्षका विद्यार्थीलाई कक्षामा रोक लगाउने कार्य निन्दनीय भएको जनाएको छ। अस्पताल र विद्यार्थीबीचको द्वन्द्वले अस्पतालजस्तो संवेदनशील क्षेत्रमा भएको अप्रिय गतिविधिले उपचारका लागि भर्ना भएका बिरामी तथा आफन्त असुरक्षित भएको र आन्दोलनरत पक्षलाई ध्यानाकर्षण गराएको जनाएको छ।

इन्सेकका प्रदेश प्रमुख सोमराज थापाले आन्दोलनरत विद्यार्थीको जायज माग सम्बोधन गर्न, कानुनी राज्यको उपहास रोक्न र तत्काल समस्या समाधानका लागि राज्यसँग माग गरिएको जनाएका छन्।

थापाले अतिरिक्त शुल्कले विद्यार्थी पीडित भए पनि आन्दोलनका क्रममा अस्पतालजस्तो संवेदनशील क्षेत्रमा हिंसात्मक प्रदर्शन, तालाबन्दी र तोडफोडजन्य गतिविधि गरिनु आपत्तिजनक भएको उल्लेख गरेका छन्।

पुस ३०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्