आज माघी

थारु समुदाय माघमै फेर्छन् घरको गरधुरिया र गाउँको अगुवा

दाङ – माघ महिना सुरु हुनुभन्दा अघिबाटै गाउँमा नयाँ मान्छेको आवतजावत चल्थ्यो। कमैया राख्ने, छुटाउने अनि कमलरी खोज्ने काम हुन्थ्यो। तर अहिले त्यस्तो छैन। न कमैया लगाउन पाइन्छ न त कमलरी राख्न नै। लमही नगरपालिका– ६ देउपुर निवासी रेहरु चौधरीलाई मालिकको घरमा काम गर्न जानु परेको छैन। कमैया मुक्त घोषणापछिका माघ पर्व खुसीयालीका साथ मनाउने गरिएको छ।

माघ पर्वलाई नयाँ वर्षको रुपमा मनाउने चलन शदिऔंदेखि चल्दै आएको थारु बुद्धिजीवी शेरबहादुर चौधरी बताउँछन्। ‘माघ नयाँ वर्ष भयो। घरको, समाजको जिम्मेवारी तोक्ने समय भएकाले यसलाई नयाँ वर्षको रुपमा मानिँदै आएको छ’, उनले भने, ‘थारु समुदायको गाउँ चलाउने अलग्गै परम्परा छ। यो परम्परा अझै कायम छ।’

दाङसहित पश्चिम नेपालका थारु समुदायले माघ १ गतेलाई नयाँ वर्षको रुपमा मनाउने चलन छ। विगतमा जस्तो कमैया, कमलरी राख्ने कुप्रथाको अन्त्य भएको छ। तर माघ पर्वमा परिवारको गरधुरिया र समाजको अगुवा छान्ने असल परम्परा अझै प्रचलनमा छ।

थारु समुदायले माघ पर्वलाई नयाँ वर्षको रुपमा मनाउने गर्छन्। घरको काम बाँडफाँड र जिम्मेवारी लिने समय भएकाले वर्षभरि भएको कामको समीक्षा गरेर निर्णय लिने अभ्यास छ। माघ महिनाभित्र घरको गरधुरिया र गाउँको अगुवा फेर्ने चलन अझै कायम रहेको छ। यसैगरी माघको १ गते स्नान गरेर आफूभन्दा मान्यजनको हातबाट आशीर्वाद लिने चलन रहेको स्थानीय मोतीराम चौधरीले बताए।

‘बिहान तलाउ, पोखरी अथवा नदीमा नुहाएर अग्रजकहाँ सेवाढोग लाग्न जाने चलन छ’, उनले भने, ‘माघ पर्व हाम्रो ठूलो पर्व हो। यसको मौलिक इतिहास छ।’

२०५७ साउन २ गते तत्कालीन सरकारले कमैया मुक्त घोषाणा गर्‍यो। त्यसपछि कमैया बस्ने र बसाल्ने क्रम घट्यो। त्यतिबेला सरकारी तथ्यांकअनुसार देशभर १८ हजार २९१ परिवार कमैया थिए। तर अहिले यो संख्या धेरैले बढेको छ। दाङ जिल्लामा मात्रै पछिल्लो पटक संकलन गरिएको लगतका आधारमा २५ हजार परिवार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी रहेको देखिन्छ। विगतमा जस्तो कमैया बस्ने, कमलहरी लगाउने चलन हटिसकेको शिक्षक देउकुमारी चौधरीले बताइन्।

‘कमैया कमलरी राख्ने चलन छैन’, उनले भनिन्, ‘कुनै समय थियो, माघ महिनाभरि कमैया खोज्ने, रोज्ने, कमलरी खोज्ने। यो कुप्रथा हटिसक्यो।’

थारु समुदायले माघ महिनालाई खानपिन र रमाइलो गरी बिताउने गर्छन्। सुंगुरको मासु, ढिक्री, खरिया, जाँडको झोल खाने र आफन्तीलाई खुवाउने चलनसमेत छ। थारु समुदायभित्रको मौलिक र लोकतान्त्रिक प्रक्रिया अझै जीवित छ। यो परम्पराका राम्रा पक्षको संरक्षण गर्न जरुरी छ।

माघ १, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्