
थैलीबोट ठूला ठाउँमा टाँसिने पो होकी
सँधैजसो मयलपोसमा गाँसिने पो होकी।।
चपाएछन् देखेजति कर्याम् कर्याम् सबै
हजुरबाउको माउथलो मासिने पो होकी।।
बेच्न थाले लेकफाँट करेन्ट बग्ने खोला
सुस्त सुस्त सबै कुरा नासिने पो होकी।।
नाइकेहरु कता गइ कस्ता टोपि लाउँछन्
हाम्रा पनि नाकका चुली तासिने पो होकी।।
थरठेगाना कता पुग्छ कस्लाइ थाहा होला
कुम्लो कसि मुग्लानमा भासिने पो होकी।।
जतासुकै नजर घुमाउ मन कुँडाउँछ ‘बिष्णु’
आखिर एक्लै रुँदै छँटाएर हाँसिने पो होकी।।