रुसले युक्रेनमाथि ‘फल्स फल्याग’ अपरेसनको तयारी गरेको अमेरिकाको दावी

युक्रेनमाथि आक्रमणको बहाना सिर्जना गर्नका लागि रुसले उत्तेजक कार्यको षड्यन्त्र गरिरहेको अमेरिकाले आरोप लगाएको छ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ताले ‘फल्स फल्याग’ अपरेसनको तयारी रुसले गरेको बताएका छन्। युक्रेनलाई उत्तेजित बनाएर आक्रमणको बहाना खोज्नका लागि रुसले गलत मनसायले भड्काउ गतिविधिको तयारी गरेको अमेरिकी आरोप छ। रुसले भने अमेरिकी आरोप खारेज गरेको छ।

पेन्टागनका प्रवक्ता जोन किर्बीले रुसले युक्रेनलाई भड्काएर आक्रमणको बहाना बनाउनका लागि नियोजित आक्रमणको तयारीका लागि एक समूह नै बनाएको आरोप लगाएका हुन्।

युक्रेनको विषयलाई लिएर सघन बनेको तनाव कम गर्नका लागि अमेरिका र रुसबीच पछिल्लो एक हप्तायता विभिन्न वार्ता भएका छन्। तर त्यसबाट नतिजा भने निस्कन सकेको छैन।

युक्रेनका एक दर्जनभन्दा बढी आधिकारिक वेबसाइटमा भएको साइबर आक्रमणमा रुसको संलग्नता रहेको युक्रेनका अधिकारीले शुक्रबार आरोप लगाएका थिए। आधिकारिक वेबसाइटहरु अफलाइन भएको र युक्रेनीहरुलाई खराब अवस्थाका लागि तयार रहन चेतावनी दिइएको थियो।

अमेरिका र नेटोले साइबर आक्रमणको निन्दा गर्दै युक्रेनको साथमा रहेको बताएका छन्। साइबर आक्रमणका सम्बन्धमा भने रुसले कुनै टिप्पणी गरेको छैन।

पछिल्लो समय रुसले युक्रेनसँगको सीमा क्षेत्रमा एक लाखभन्दा धेरै सैनिक तैनाथ गरेको छ। अमेरिकासहितका पश्चिमा देशले यसलाई युक्रेनमाथि रुसी आक्रमणको तयारी भनेका छन्। तर रुसले भने आक्रमणको कुनै योजना नरहेको दाबी गर्दै आएको छ।

माघ १, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्