सिमकोट – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडद्वारा ढुवानी अनुदानमा बिक्री हुने चामलको मुख्य घटेको छ। लिमिटेडको हुम्ला शाखाले मूल्य घटाउन केन्द्रलाई पत्र नै काटेको थियो।

लिमिटेडको शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले शाखाद्वारा बिक्री हुने सबै प्रकारका चामलको मूल्य घटेको जानकारी दिए। केही दिनअगाडि शाखाले चामलको मूल्य घटाउन गरेको अनुरोधलाई केन्द्रले समर्थन गरेको प्रमुख अधिकारीले बताए।

उनका अनुसार घटेको मूल्य शाखाले कार्यान्वयनमा ल्याएको छ। घटेको मूल्य शुक्रबारबाट सर्वसाधारणका लागि लागु भएको उनले बताए। अरुवा मोटा चामलको मूल्य प्रतिक्विन्टल पाँच हजार आठ सयबाट घटेर पाँच हजार ६ सय भएको छ। अरुवा मकवानपुर चामलको मूल्य प्रतिक्विन्टल पाँच हजार ९ सयबाट घटेर पाँच हजार ८ सय भएको छ।

सोना मन्सुली चामलको मूल्य भने पुरानै कायम रहेको प्रमुख अधिकारीले बताए। अरुवा मध्यमको मूल्य प्रतिक्विन्टल ६ हजार एक सयबाट घटेर ६ हजार कायम भएको छ। जापानी चामलको मूल्य प्रतिक्विन्टल ६ हजार ७ सयबाट घटेर पाँच हजार ५ सय भएको छ। उनका अनुसार स्टिम जिरा चामलको मूल्य प्रतिक्विन्टल आठ हजार २ सयबाट आठ हजारमा झरेको छ।

यो मूल्य सबै सर्वसाधारणका लागि लागू भएको र त्यसमा कर्मचारीहरुलाई पच्चीस प्रतिशत थप हुने प्रमुख अधिकारीले बताए। यसअघि दसैंमा खाद्यान्नमा मूल्य घटाएको थियो।

माघ १, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्