कोरोनालाई बेवास्ता गर्दै कैलालीको गोदावरीमा दर्शनार्थीको भीड (तस्बिरहरु)

धनगढी – कैलालीको गोदावरी धाममा माघे संक्रान्तीको अवसरमा हजारौंको संख्यामा दर्शनार्थीहरुले स्नान गरेका छन्।

कोरोना महामारीका कारण यस वर्ष गोदावरीको अर्धकुम्भ मेला स्थगित गरिएको थियो। तैपनि गोदावरीमा स्नान, पूजाआजा गर्ने दर्शनार्थीहरुको घुइँचो नै लागेको हो। दर्शनार्थीहरुले गोदावरी धाममा स्नान, पूजापाठ, यज्ञ अनुष्ठान, विवाह व्रतबन्धलगायतका नित्यकर्म गरेका छन्।

गोदावरी धाम विकास समितिले यस वर्ष मेला स्थगित भए पनि ठूलो संख्यामा दर्शनार्थीहरु आएको जनाएको छ। समितिका अध्यक्ष पदमराज जोशीले मेला स्थगित भएको प्रचार गर्दागर्दै हजारौं सर्वसाधारण गोदावरीमा स्नान गर्न आएको बताए। ‘वितगमै गोदावरी धामको व्यापक प्रचारप्रसार भइसकेको छ। यहाँ आएपछि मानिसहरुलाई सुख, शान्ति, समृद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ’, उनले भने, ‘नदी किनार पूरै भरिएको छ। स्नान गर्ने, दर्शन गर्नेको पनि संख्या उत्तिकै छ।’

उनले मेलामा कोरोनाबाट जोगिनका लागि समितिले सचेतना कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए।

गोदावरी संन्न्यास आश्रमका महन्त तुलसी गिरीले कोरोनाका कारण सरकारले भीडभाड गर्न रोक लगाए पनि मानिहरु गोदावरी धामको आस्थाकै कारण स्वस्फुर्त रुपमा आउने गरेको बताए।

समितिले २०७२ सालमा महाकुम्भ मेला आयोजना गरेपछि त्यसपछिका वर्षमा माघ १ गते कुम्भमेला आयोजना गर्दै आएको थियो। यता जिल्ला प्रशासन कार्यालयले पनि आदेश जारी गर्दै मेला, महोत्सवमा रोक लगाएको छ।

प्रशासनले २५ जनाभन्दा बढी सार्वजनिक स्थलमा भेला नहुन भनेको थियो। तर, प्रशासनको आदेश र कोरोनाको जोखिमलाई बेवास्ता गर्दै गोदावरी धाममा हजारौंले मेला भरेका छन्।

माघ १, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्