हुम्लामा झन् झन् बढ्याे चिसाे, लिमीको तापक्रम माइनस २१ डिग्री सेल्सियस

तापक्रम माइनस २१ डिग्री पुगेको लिमीको हल्जी गाउँ। तस्बिर सौजन्य : पाल्जोर तामाङ, वडा अध्यक्ष, लिमी

सिमकोट – हुम्लामा चिसो बढ्ने क्रम निरन्तर रहेको छ। जिल्लाको हिमालपारिको गाउँ नाम्खा गाउँपालिकाको तापक्रम माइनस २१ डिग्रीमा झरेको छ। पटकपटकको हिमपात, दैनिक बादल लाग्ने र हावाहुरी चल्दा यसवर्ष अत्यधिक चिसो महसुस गरिएको हो।

नाम्खा गाउँपालिका– ६ लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले शनिबार बिहान तापक्रम माइनस २१ डिग्रीमा झरेको जानकारी दिए। जसले गर्दा चिसो अत्यधिक बढेको उनले बताए।

उनका अनुसार शनिबार दस वर्षयता सबैभन्दा बढी चिसो महसुस गरिएको छ। ‘दैनिकजसो हिउँ परिरहेकाले चिसो अत्यधिक बढेको छ’, वडा अध्यक्ष तामाङले भने।

हरेक वर्ष हिउँदमा लिमीमै बस्दै आएका उनले विगत वर्षहरुमा यति चिसो महसुस नभएको सुनाए। ‘स्थानीयले बिहान र बेलुका काम गर्नै नसक्ने अवस्था आएको छ’, उनले थपे, ‘लिमीका खोलानाला, नदी, पानीका मुहान र खानेपानीका धारामा चौबीसै घण्टा बरफ जमेको छ। हिउँ पगालेर पानी प्रयोग गर्नुपर्ने भएको छ।’

त्यसैगरी नेपाल र चीनको सीमा नाका हिल्साको तापक्रम पनि शनिबार माइनस १७ डिग्री पुगेको सीमा सुरक्षा चौकीका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक पूर्णबहादुर चन्दले जानकारी दिए। दैनिक तापक्रम माइनस १५ भन्दा तल कहिल्यै नझर्ने लिमीको तापक्रम शनिबार १७ मा झरेको उनले बताए।

कर्णाली नदीको खोचमा हिल्सा नाका भएको कारण तीन घण्टामात्र घाम लाग्ने गर्छ। चिसो धेरै भए पनि नियमित रुपमा किट क्षेत्रतर्फका सीमास्तम्भहरुको अनुगमन कार्य भने जारी राखिएको छ। हिल्सा र लिमीसँगै सदरमुकाम सिमकोटको तापक्रम माइनसमा पुगेको छ। यहाँको तापक्रम माइनस १२ डिग्रीमा झरेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए।

पुस महिनाभरि पटक–पटक हिमपात भएको छ। चिसो बढेकाले सडक र पानीका धारामा बरफ जमेको देखिनु सामान्य जस्तै भएको छ।

माघ १, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्