लिपुलेकमा भारतले सडक बनाउनु नेपालको सार्वभौमिकताको विरुद्ध छ – राप्रपा

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीले लिपुलेकमा भारतले सडक बनाउनु नेपालको सार्वभौमिकताको विरुद्ध रहेको बताएको छ।

राप्रपाका महामन्त्री भुवन पाठकले शनिबार एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै कालापानी लिपुलेक नेपाली भूमि भएकोले नेपाली भूमिमाथि भइरहेको अतिक्रमण र हस्तक्षेपका विरुद्ध नेपाल सरकारले प्रतिवाद गर्नुपर्नेमा जोड दिएको छ।

‘नेपाली भूमि लिपुलेक कालापानी क्षेत्रमा भारतले एकतर्फी रुपमा सडक निर्माण गरिरहेको र केही दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सो कुराको खुलासा गर्नुभएको विषय गम्भीर, आपत्तिजनक र नेपाली सार्वभौमिकताको विरुद्धमा छ’, विज्ञप्तिमा भनिएको छ, ‘कालापानी लिपुलेक नेपाली भूमि हो, आफ्नो भूमिमाथि भइरहेको अतिक्रमण र हस्तक्षेपका विरुद्ध नेपाल सरकारले प्रतिवाद गर्नुपर्दछ।’

तर भारतले सार्वजनिक रुपमा सडक निर्माण गरिरहेको अभिव्यक्ति दिइरहँदा नेपाल सरकार र सत्तारूढ गठबन्धनको मौनता आश्चर्यजनक, दुःखद र रहस्यमय भएको महामन्त्री पाठकले औंल्याएका छन्।

राप्रपाले नेपाली भूमिमा भइरहेको हस्तक्षेपका बारे नेपाल सरकारले भारतसँग कूटनैतिक र राजनीतिक तहमा संवाद गरी अविलम्ब निर्माण कार्य रोक्न र आफ्नो भूमिको रक्षा हुने गरी समाधान निकाल्न सरकारसमक्ष माग गरेको छ।

माघ १, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्