हुम्लामा खाद्यान्न ढुवानी गर्न मुख्यमन्त्री शाहीको निर्देशन

सिमकोट – कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले हुम्लामा छिटो खाद्यान्न ढुवानी गर्न निर्देशन दिएका छन्।

ढुवानी कार्य सुस्त गतिमा भइरहेका बेला जनताले खाद्यान्न नपाउने अवस्था देखिएपछि शनिबार मुख्यमन्त्री शाहीले यस्तो निर्देशन दिएका हुन्।

मुख्यमन्त्रीले खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख (काठमाडौं)लाई हुम्लामा खाद्यान्न तत्काल ढुवानी गर्ने कार्यमा सबै हवाईजहाज कम्पनीसँग समन्वय गरेर छिटोभन्दा छिटो ढुवानी गर्न निर्देशन दिएको मुख्यमन्त्री सचिवालयले जानकारी दिएको छ।

हुम्लाका लागि हवाई ढुवानीको जिम्मा पाएको एयरकार्गोले सीता एयरलाई मात्र ढुवानीको जिम्मा दिँदा कम ढुवानी भएको भन्दै उनले यस्तो निर्देशन दिएका हुन्।

यस विषयमा मुख्यमन्त्री शाहीले प्रधानमन्त्री कार्यालयलाई समेत ध्यानाकर्षण गराएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। चालु आर्थिक वर्षका लागि हुम्लामा हालसम्म एक हजार दुई सय क्विन्टल खाद्यान्न ढुवानी भएको छ। खाद्यान्न कोटा भने १० हजार छ।

लिमिटेडको शाखाको गोदाममा खाद्यान्न मौज्दात कम भएपछि शुक्रबारबाट कोटाको आधा खाद्यान्न मात्र वितरण गर्ने तयारी गरेपछि स्थानीयले विरोध जनाएका थिए।

त्यसपछि शाखाले सिमकोट गाउँपालिका–१ र २ का जनतालाई पूरै कोटाको खाद्यान्न बिक्री गरेर अरूलाई एक हप्तासम्मका लागि बन्द गरेको छ।

माघ १, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्