नेपालले अफगानिस्तानलाई मानवीय सहायता पठाउँदै

परराष्ट्रमन्त्री नारायण खड्का। फाइल तस्बिर

काठमाडौँ – ठूलो मानवीय संकटमा फसेको अफगानिस्तानलाई नेपाल सरकारले सहायता सामग्री पठाउने भएको छ।

परराष्ट्रमन्त्री डा. नारायण खड्काले खाना, नाना र औषधि उपचारको संकट व्यहोरिरहेका अफगानिस्तानका नागरिकलाई मानवीय सहायता सामग्री लिएर परराष्ट्र मन्त्रालयको एउटा टोलीलाई आइतबार विमानमार्फत अफगानिस्तानको राजधानी काबुल पठाउन लागिएको जानकारी दिए।

उनले अन्तर्राष्ट्रिय मिडियामार्फत दैनिकजसो अफगानिस्तानका नागरिकको चित्कार सुनेपछि आफूले नेपाल सरकारले तर्फबाट पनि मानवीय सहायता उपलब्ध गराउने निर्णय लिएको स्पष्ट पारे।

मन्त्री खड्काले नेपालले आफ्नै विमानमार्फत उपलब्ध गराउने यो मानवीय सहायता इतिहासमै पहिलो हुने दाबीसमेत गरे। उनका अनुसार आइतबार नै काबुलमा त्यहाँस्थित संयुक्त राष्ट्रसंघका प्रतिनिधिलाई नेपालले सो मानवीय सहायता सामग्री हस्तान्तरण गर्नेछ। नेपालले हस्तान्तरण गर्ने सहायता सामग्रीमा औषधोपचार, लत्ता कपडा र अन्य आवश्यकीय घरायशी सामान छन्।

परराष्ट्रमन्त्री खड्काले भने, ‘यो एउटा नेपालको अन्तर्राष्ट्रिय सम्बन्धको दृष्टिबाट अत्यन्त महत्वपूर्ण मिसन हो– यो। अभियान नै हो। हामीले अफगानिस्तानका लाखौं जनता जो, भोकमरी, त्यस्तै गरेर खाद्यान्नको अभाव, लत्ताकपडा र धेरै ठूलो औषधोपचारको संकटमा हुनुहुन्छ। उहाँहरूको चित्कार दिनैपिच्छे हामीले अन्तर्राष्ट्रिय मिडियामा हेर्ने गरिराखेका छौं। यस सन्दर्भमा हामी यो दक्षिण एसियाली परिवारको एउटा सदस्यको नाताले र अफगानिस्तान पनि त्यही फेमिलीको सदस्य भएको नाताले हामीले हाम्रो एउटा नैतिक जिम्मेवारी पनि ठानेर मानवीय सहयोग जुटाउने प्रयास गरिराखेका छौं।’

उक्त सहयोग लिएर यहाँबाट हवाईजहाज त्यसतर्फ जाने उनले जानकारी दिए। उनले भने, ‘हवाईजहाज कावुलमा गएर संयुक्त राष्ट्रसंघका प्रतिनिधि, जो महासचिवको यस क्षेत्रको प्रतिनिधि हुनुहुन्छ। उहाँलाई ह्याण्डओभर गर्ने। र, उहाँले आ–आफ्नो निकायमा कसरी हुन्छ, त्यो वितरण गर्नुहुनेछ। यसमा खास गरेर संयुक्त राष्ट्रसंघले तीन वटा क्याटोगरीको सामान दिएको थियो। एउटा, औषधोपचार। दोस्रो, लत्ताकपडा –न्यानो कपडा)। र, अर्कोचाहिँ आवश्यक घरायसी सामान। जस्तैः चिया खाने कप, भाँडाकुँडा, गिलासको लिष्ट छ। त्यो सामानचाहिँ हामीले भोलि हवाईजहाजमा लिएर जान्छौं र त्यहाँ संयुक्त राष्ट्र संघलाई नेपाली जनताको तर्फबाट अफगानिस्तानको जनताका लागि हस्तान्तरण गर्ने कार्यक्रम छ।’

मन्त्री खड्काले यो सहायता सामग्री वितरणपछि नेपालको छवि अन्तर्राष्ट्रिय जगतमा बढ्ने र नेपाल विश्वका कुनै पनि भेगका नागरिकलाई मानवीय सहायता गर्न सक्षम छ भन्ने सन्देश जाने स्पष्ट पारे।

उनले नेपालले विपद्मा आफूले सहायता लिने तर अरुलाई सहायता नदिने छवि सुधारका लागि पनि अफगानिस्तानका नागरिकलाई मानवीय सहायता पठाउने सोच आफूले अघि सारेको बताए।

मन्त्री खड्काले भने, ‘हामीलाई यो पनि देखाउनुपर्नेछ कि–हामीलाई यहाँ प्राकृतिक प्रकोप वा अन्य खालको ठूला दैवीप्रकोप पर्दाखेरी हामीले सहयोग त लिन्छौं नै ! र, हाम्रो सधैंभरि बाहिरबाट अन्तर्राष्ट्रिय इमेज कस्तो भएको छ त भन्दाखेरी हरेक कुरामा माग्ने, अर्काको भरपर्ने खालको इमेज बाहिर गयो। त्यसलाई सुधारेर अन्तर्राष्ट्रिय जगतमा नेपालले पनि गर्न सक्छ, नेपालको पनि त्यो क्षमता छ। र, संकट परेको बेला नेपालले पनि निकै ठूलो स्केलमै पनि सहयोग गर्न सक्छ भन्ने एउटा सन्देश पनि दिन्छ।’

नेपालले पठाउने सो सहायता सामग्री सुरक्षित ढंगले विमानमार्फत लैजाने र सुरक्षित ढंगले हस्तान्तरण गरेर फर्काउने व्यवस्था गर्न धेरै ठूलो कोसिस गर्नुपरेको पनि मन्त्री खड्काले बताए।

उनले त्यसका लागि संयुक्त राष्ट्रसंघ, भारत सरकार, नेपालस्थित विभिन्न देशका राजदूतको ठूलो सहयोग रहेको पनि स्मरण गरे।

उनले भने, ‘यो एउटा मानवीय सहयोगको मिसन हो, मैले भनिहालेँ। यो मिसनमा संयुक्त राष्ट्रसंघ, यहाँका हाम्रा मिसनको ठूलो सहयोग छ। सरकारलाई एक पैसाको दायित्व नपारी यो एउटा अभियान हो। देशको इमेज बिल्डर गर्न, हाम्रो क्षमता छ भन्ने कुरा सावित गर्न एउटा मिसन हो यो। संयुक्त राष्ट्रसंघ, त्यसै गरेर बाटोमा पर्ने एयर स्पेस, हामीले ओभर फ्लाइट परमिसन भारतको पनि प्राप्त भएर मुख्य कुरा कावुलमा हाम्रो जहाज ल्यान्ड गर्दा सबै सुरक्षाको प्रबन्ध र सुरक्षित तरिकाले ह्यान्डओभर गर्ने र सुरक्षित तरिकाले हाम्रो जहाज स्वदेश फिर्ता गर्ने व्यवस्था गर्न धेरै मिहिनेत गर्नुपर्‍ यो।’

त्यसका लागि संयुक्त राष्ट्रसंघ नेपालस्थित राजदूतहरूको ठूलो सहयोग रहेको उनले बताए। संयुक्त राष्ट्रसंघले यो हिउँदमा अफगानिस्तानमा ठूलो भोकमरी समस्या आउने जनाएको छ। लाखौंको संख्यामा बालबालिका खाना अभावमा मर्ने उसले चेतावनी दिँदै मानवीय सहायताका लागि विश्व समुदायलाई अपिल गर्दै आएको छ।

माघ १, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्