मोरङमा कोरोनालाई बेवास्ताः जनप्रतिनिधि नै मान्दैनन् प्रशासनको निर्देशन

मोरङ– कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालय मोरङले जारी गरेको निर्देशन अवज्ञा भएको छ।

माघे संक्रान्तिका अवसरमा जिल्लाका विभिन्न स्थानमा ठूलो संख्यामा सर्वसाधारणको उपस्थितिमा कार्यक्रम आयोजना गरिएका छन्।

बिहीबार मध्यरातबाट लागु हुने गरी प्रशासनले भेला, महोत्सव, सभा सम्मेलन, खेलकुदका कार्यक्रमसहित २५ जनाभन्दा बढीको संख्यामा कार्यक्रम नगर्न निर्देश गरेको छ। तर, शनिबार विराटनगरभित्र र जिल्लाका पूर्वी क्षेत्रमा धेरै कार्यक्रम भएका छन्। कार्यक्रममा कोही मास्कसहित भेलामा देखिए भने अधिकांश मानिस मास्क बिना नै उपस्थित थिए।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता शरदकुमार पोखरेलले जारी गरिएको निर्देशन अवज्ञा भएको स्वीकार गरे। उनले भने, ‘कोरोना महामारीबारे हामी सबै जानकारीमा छौँ। तर, दुःखलाग्दो कुरा, बुझेकाहरुबाट नै निर्देशन उल्लंघन भएको छ। भीड गर्न हुने वा नहुने प्रशासनले स्पष्ट जनाए पनि सबै बुझ्नेहरु नै हुनुहुन्छ। यस्तै रहे हामी कडाइका साथ अघि बढ्ने छौँ।’

जिल्ला प्रशासन कार्यालयनजिक सहिद मैदान रोडबाट रोटरी क्लब अफ विराटनगर फ्यूजनले शनिबार साइक्लोथोनको आयोजना गरेको थियो। जहाँ अतिथि महानगरका प्रमुख भीम पराजुली नै रहेका थिए। करिब १६ किलोमिटरको साइकल दौड सन्देशमूलक र सचेतनामूलक भएको हुँदा आफू कार्यक्रममा उपस्थित भएको उनको भनाइ छ।

प्रशासन कार्यालयले खेलकुद कार्यक्रम नगर्न निर्देशन दिएको सन्दर्भमा मेयर पराजुलीले पूर्ववत कार्यक्रम भएको र साइकल चलाउनु स्वास्थ्यका लागि पनि लाभदायक हुने हुँदा कार्यक्रममा सरिक भएको तर्क गरे। आयोजकले साइक्लोथोनमा मोरङ, सुनसरी, झापासहित प्रदेश १ का विभिन्न स्थानबाट करिब २०० बढी सहभागी हुने जनाएका थिए।

यस्तै समाजशास्त्री रामप्रसाद पोखरेल प्रशासनले निर्देशन जारी गरिसकेपछि कार्यक्रम गरिनु उपयुक्त नभएको बताउँछन्।

‘एकातिर कोरोना संक्रमण अनि प्रशासनको निर्देशनको ठाडो अवज्ञा। यसले पनि हामी सचेत भएर अचेत रहेछौँ भन्ने पुष्टि गर्छ,’ उनले भने।

पोखरेलका अनुसार केन्द्र र स्थानीय सरकारबीचको दम्भका कारण पनि जारी निर्देशन अवज्ञा भइरहेको छ। स्थानीय तह सरकार आफू हो भन्ने दम्भले प्रस्तुत हुँदै आएको हुँदा केन्द्रका कतिपय निर्देशन मान्न तयार नभएको देखिएको उनको भनाइ छ।

हाल कोरोना फैलिनसक्ने अवस्था हुदाँहुँदै पनि त्यस अवस्थाप्रति गम्भीर नभएर जनप्रतिनिधि आफै लापर्वाह भएको उनको भनाइ छ। जनप्रतिनिधि आफै कार्यक्रमको उद्घाटनमा पुगेर सर्वसाधारणको उपस्थितिलाई उक्साइरहेको देखिने गरेको उनले बताए।

उनी भन्छन्, ‘जनप्रतिनिधिमा सरकार आफै हो भन्ने दम्भ छ। जसका कारण केन्द्र वा प्रशासनले गरेको निर्देशनसमेत उनीहरुले अवज्ञा गरिरहेका छन्। अहिलेको अवस्था जोगिने हो भनेर बुझिरहँदा रहँदै पनि उनीहरु लापर्वाह हुँदै गएका छन्।’

त्यसो त विराटनगरमा मात्र नभएर शनिबार पथरीशनिश्चरे, कानेपोखरी, बेलबारीलगायतका पालिकामा समेत विभिन्न कार्यक्रम आयोजना भएको छ। ती कार्यक्रममा प्रशासनले जारी गरेको निर्देशन ठाडो उल्लंघन भएको स्थानीयले बताएका छन्।

पथरीशनिश्चरे नगरपालिकामा शुक्रबार सिन भिलेज सांगितीक कार्यक्रम राति अबेरसम्म आयोजना भएको थियो। सांगीतिक कार्यक्रम हेर्नका लागि आयोजकले २ सय ५० रुपैयाँ टिकटसहित कार्यक्रम आयोजना गरेको थियो।

माघ १, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्