प्रदेश १ मा थपिए ३२० जना कोरोना संक्रमित

मोरङ– प्रदेश १ मा गएको २४ घण्टामा ३ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार प्रदेशका विभिन्न प्रयोगशालामा ५ सय ८९ जनाको पीसीआर परीक्षणमा २ सय ७२ जना र २ सय ६३ जनाको एन्टिजेन परीक्षणमा ४८ जनामा संक्रमण भएको हो।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका क्रममा मोरङमा १ सय २९, सुनसरीमा १ सय ११, झापामा १९, धनकुटामा ३ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण भएको हो।

मोरङको विराटनगरमा १ सय १३, बुढीगंगामा ८, रंगेली र सुन्दरहरैंचामा समान २, ग्रामथान, उर्लाबारी, कटहरी र पथरीशनिश्चरेमा समान १ जनामा संक्रमण भएको छ।

सुनसरीको धरानमा ८७, इटहरीमा १४, रामधुनीमा ४, दुहवी र हरिनगरमा समान २, इनरुवा र स्थानीय तह नखुलेकामा समान १ जनाको रिपोर्ट पोजिटिभ आएको छ।

झापाको भद्रपुरमा ५, विर्तामोडमा ३, मेचीनगरमा २, बुद्धशान्ति, अर्जुनधारा, बाह्रदशी, दमक, गौरादह, झापा गाउँपालिका र स्थानीय तह नखुलेकामा समान १ जनालाई संक्रमण भएको छ। मन्त्रालयले पहाडी क्षेत्रतर्फ धनकुटाको धनकुटा नगरपालिकामा ३ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण भएको जनाएको छ।

अर्कोतर्फ प्रदेशमा शनिबार १२ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छन्। यसरी संक्रमणमुक्त हुनेमा ३ महिला र ९ पुरुष रहेका छन्। मन्त्रालयका अनुसार हाल प्रदेशमा सक्रिय संक्रमितको संख्या १ हजार ३ सय ९७ रहेको छ।

माघ १, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्