विराट कोहलीद्वारा टेस्ट टिमको कप्तानी छोड्ने घोषणा

विराट कोहलीले भारतीय टेस्ट क्रिकेट टिमको कप्तानबाट राजीनामा दिएका छन् । उनले शनिबार सामाजिक सञ्जाल ट्वीटरमा वक्तव्य जारी गरेर टेस्ट क्रिकेटको कप्तानी छोड्ने घोषणा गरेका हुन्।
उनी भारतका सबैभन्दा सफल टेस्ट कप्तान हुन् । उनले झण्डै सात वर्ष टेस्ट टिमको नेतृत्व गरे । विराटले लेखेका छन्, ‘मैले आफ्नो काम पूरा इमानदारीका साथ गरेँ र कुनै कसर बाँकी राखिन ।’
उनले अघि लेखेका छन्, ‘मै जे पनि गर्छु त्यसमा १२० प्रतिशत योगदान दिनेमा विश्वास गर्छु । यस्तो गर्न नसक्ने अवस्थामा नगर्नु नै राम्रो हो जस्तो लाग्छ ।’
पछिल्लो केही समयदेखि विराट कोहली र बिसिसिआईबीच कप्तानीलाई लिएर विवाद चल्दै आएको थियो । कोहलीले गएको वर्ष (सन् २०२१) मा भएको ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटअघि विश्वकपपछि ट्वेन्टी–ट्वेन्टी टिमको कप्तानी छोड्ने घोषणा गरेका थिए ।
त्यसपछि उनको स्थानमा एकदिवसीय क्रिकेटको कप्तानी रोहित शर्मालाई सुम्पिएको थियो । कोहलीले कप्तान फेर्ने सम्बन्धी जानकारी आफूलाई मात्रै डेढघण्टा पहिलो जानकराी दिइएको बताएका थिए । कोहलीको यो भनाइपछि विवाद सुरु भयो ।
कोहलीको कप्तानीमा भारतले विभिन्न सफलता हाँसिल गर्न सफल भएको थियो । विराटले कप्तानका रुपमा भारतको अन्तिम टेस्ट शृङ्खला दक्षिण अफ्रिकासँग खेलेका थिए । सो शृङ्खला शुक्रबार सकिएको थियो ।
विराट भारतका सबैभन्दा सफल टेस्ट कप्तान हुन् । उनले ६८ टेस्ट खेलमा भारतको कप्तानी गरे र ४० मा जित हाँसिल गरे ।
— Virat Kohli (@imVkohli) January 15, 2022